नेभिगेशन
समाज

सानो बजेटमै खानेपानीका स्मार्ट योजना बनेका छन् : सदस्य रावल

दिगो विकास आयोजनाका लागि सहि तथ्याङक आवश्यक 

कर्णाली प्रदेश योजना आयोगका सदस्य डम्बर बहादुर रावलले भूकम्पपछि रुकुम पश्चिमका विभिन्न स्थानमा निर्माण भएका खानेपानीका योजनाहरु स्मार्ट भएको बताउनुभएको छ ।

शुक्रबार जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा सदस्य रावलले सानो बजेटले स्मार्ट योजना सम्पन्न भएको उल्लेख गर्नुहुँदै योजनाहरुमा जनताको अपनत्व हुनुपर्ने र बचाउनुपर्ने बताउनुभयो ।

उहाँले सहि तथ्याङकमा आधारित योजना भएमा मात्र दिगो विकास निर्माण हुने कुरामा जोड दिनुभयो । सहि तथ्याङक नहुँदा विकासको आवश्यकता पहिचान गर्न र दिगोपनमा समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले विकासको सहि लक्ष्य र गुणस्तरका लागि आवश्यक गुरु योजना निर्माणमा जोड दिनुभयो । 

भूकम्पपछि रुकुम पश्चिम र जाजरकोटका विभिन्न गाउँमा खानेपानीका आयोजनाहरु निर्माण हुँदा घण्टौ टाढाबाट बोकेर, एउटै धारामा लाईन बसेर पानीको जोहो गर्ने सर्वसाधारणहरुले सुरक्षित तथा राहतको महशुस गरेको रावलले उल्लेख गर्नुभयो । भूकम्पले कहाँ, कति क्षति पुग्यो ? कुन घर, टोल, स्कुलमा कति खानेपानी र सिंचाई आवश्यक छ ? त्यसको भने यथार्थ विवरण हुनुपर्ने सदस्य रावलले उल्लेख गर्नुभयो ।

कार्यक्रमममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष मान बहादुर रोकायले सुरक्षित खानेपानीले गुणस्तरिय दैनिकी निर्माण हुने बताउनुभयो । उहाँले विपद् बिरुद्धको अभियानमा एकजुट भएर काम हुँदा भूकम्प प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईको क्षेत्रमा सकारात्मक र रचनात्मक काम भएको जनाउनुभयो । गास, बास र कपाससँगै खानेपानी र सरसफाईलाई पनि आधारभूत आवश्यकताको रुपमा महसुस गरिएको प्रदेश अध्यक्ष रोकायले उल्लेख गर्नुभयो । 

799d489c-5897-410e-81fe-d0f3ce6fdfc4-1738405283.jpgउक्त कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष लुम्बिनी गौतमले खानेपानी पर्याप्त र प्रशस्त बनाउन प्रतिफलमूखि काम भएकोले बताउनुभयो । सहि तथ्याङकमा आधारित विकास योजनामा ध्यानदिनुपर्ने उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.ले जिल्लाका विभिन्न सार्वजनिक स्थानहरुमा रहेका सार्वजनिक शौचालयको संख्या नै एकमुष्ट नरहेको तथा सार्वजनिक शौचालयको समेत अभाव देखिएको उल्लेख गर्नुभयो । एकिकृत योजना र बजेटको सन्तुलित व्यवस्थाले विकास निर्माण दिगो हुने प्रजिअ जी.सी.ले उल्लेख गर्नुभयो । 

25b2dd8a-c206-4054-9307-e8a76017e13f-1738405283.jpgउक्त कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा काम गरेका विभिन्न निकायहरुले सम्पन्न गरेका कामहरुको जानकारी गराईएको थियो । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख तेज नारायण महतो, रुकुमेली समाज विकास केन्द्रका वास मेनेजर बमबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटीका सभापति रमा गौतम, नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी लगायतले खानेपानी र सरसफाईको क्षेत्रमा भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । 

रुकुमेली समाज विकास केन्द्रका मेनेजर खड्काले सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकामा कार्य क्षेत्र बनाएर खानेपानी योजना निर्माण तथा मर्मत, बिद्यालयमा शौचालय र धारा निर्माण, समुदायस्तरमा एकघर एक धारा, शौचालय निर्माण, दक्ष जनशक्ति उत्पादन लगायतका कार्यहरु गरेको जानकारी गराउनुभयो । 

जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष लुम्बिनी गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्