नेभिगेशन
राजनीति

सत्ता गठबन्धन स्थायीत्व र विकासका लागि हो, कुनै हालतमा भत्किदैन : नेता आचार्य

रुकुम पश्चिम । नेपाली कांग्रेसका नेता मनोजमणी आचार्यले वर्तमान सत्ता गठबन्धन कुनै हालतमा नभत्कने ठोकुवा गर्नुभएको छ । 

नेपाली कांगेस रुकुम पश्चिमले शनिबार मुसिकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता आचार्यले यो गठबन्धन स्थायीत्व र विकासका लागि भएकोले कुनै पनि शक्तिले टुटाउन नसक्ने बताउनुभयो । 

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहनुभएका नेता आचार्यले कांग्रेस र एमालेको सरकार शान्ती र विकाससँगै जनतालाई सुशासनको प्रत्याभूति दिनको लागि निर्माण भएको उल्लेख गर्नुभयो । उहाँले काँग्रेसले संविधान संशोधनलाई प्राथमिकतामा राखेको तर संविधानका मूलभुत मूल्य मान्यतामा असर नपर्ने गरी संशोधन हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा उहाँले आफूलाई बैकल्पिक शक्ति भनेर दाबी गर्नेहरुले सुशासनको मुकुन्डो लगाएर भ्रष्टाचारको बिरोध गर्ने गरेको र उनीहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनुभयो । नेता आचार्यले जमिनमा नटेकेर आकाशमै उड्न खोजेको ऊक्त शक्तिले अब जनतालाई झुक्काउन नसक्ने भएकोले ओरोलो यात्रातर्फ लागेको जनाउनुभयो । 

कार्यकर्ता भेटघाट तथा अन्तरक्रियाको क्रममा उहाँले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने भएकोले क्रियाशिल सदस्यता नविकरणलाई केन्द्रको कार्यकतालिका भित्रै सक्काउन अनुरोध गर्नुभयो । 

उक्त कार्यक्रममा कांग्रेसका युवा नेता लेखनाथ पोखरेलले आफूहरु नेपाली कांग्रेसको अवस्था र एक सय दिने अभियानको अनुगमनको क्रममा रुकुम आएको बताउनुभयो । उहाँले पार्टीको देशव्यापी सांगठनिक गतिविधि बुझेर आगामी कार्य योजना बनाउने समेत बताउनुभयो । 

उक्त कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारी, महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगी, बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा, नेपाली काँग्रेस रुकुम पूर्वका नेता नन्द बिष्ट, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बासु न्यौपाने, पार्टीका पालिका सभापति र वडा सभापति, भातृ संठगनका प्रमुख तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । 

नेपाली कांग्रेसका उपसभापति सुरत जंग मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य तथा पार्टी प्रवक्ता लाल बहादुर ओलीले गर्नुभएको थियो । 

2a5dbcb7-b2c5-46d7-98a2-2c182162d00c-1738424772.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्