नेभिगेशन
समाज

कैलदेऊमा शहरी स्वास्थ्य केन्द्र उद्घाटन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ कैलदेउमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । 

सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख महेन्द्र केसीले केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको हो । 

शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुहुँदै नगर प्रमुख केसीले स्थानीयको मागको आधारमा जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन गाउँमै शहरी स्वास्थ्य केन्द्र सुरु गरिएको बताउनुभयो । 

उहाँले कैलदेउ लगायतको गाउँका सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन सल्ले, छिङ जानुपर्ने बाध्यताको अन्त्य गर्न कैलदेउमा उक्त केन्द्र सञ्चालन गरिएको जनाउनुभयो । शहरी स्वास्थ्य केन्द्रबाट आवश्यक सेवाहरु लिन उहाँले स्थानीयलाई आग्रह समेत गर्नुभयो । 

मुसिकोट नगरपालिकाका स्वास्थ्य अधिकृत मान बहादुर खत्रीले स्वास्थ्य सेवाको सुविधा लिन टाढा रहेका बस्तीहरुलाई लक्षित गरेर कैलदेउमा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताउनुभयो । खत्रीका अनुसार गत वर्षबाट नै सेवा सुरु गरिएको शहरी स्वास्थ्य केन्द्रको आज औपचारिक उद्घाटन गरिएको हो ।

केन्द्र सञ्चालनको लागि कैलदेउको एक घरमा दुई कोठामा भाडा लिईएको छ भने अहेब मेघराम ओलीलाई अर्को व्यवस्था नभएसम्मको लागि उक्त स्वास्थ्य केन्द्रमा खटाईएको छ । ग्रामिण क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य केन्द्रको कारण नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सकिने स्वास्थ्य अधिकृत खत्रीले उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा नगर प्रमुख केसीसहित वडा अध्यक्ष ज्ञानु चन्द्र चन्द, नगरपालिकाका कर्मचारीहरु, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

475444762_607351185324100_1385889052500181149_n-1738582059.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्