नेभिगेशन
खेल

सानीभेरी ५ मा प्रथम अलबहादुर खत्री स्मृति कप सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा ‘स्व. अलबहादुर खत्री स्मृति कप, २०८१’ सुरु भएको छ । 

नेपाली काँग्रेस सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा कमिटीको आयोजनामा सुरु भएको स्मृति कपको आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगीले उद्घाटन गर्नुभएको हो ।

स्मृति कप उद्घाटन गर्नुहुँदै नेता डाँगीले स्व. खत्री एक कलाप्रेमी, खेलप्रेमी र सामाजिक व्यक्तित्व भएको बताउनुभयो । सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्ष रहेकै बेला उपचारको क्रममा २०८० माघ २२ गतेका दिन उहाँको निधन भएको थियो ।

स्व. खत्रीलाई स्मरण गर्नुहुँदै नेता डाँगीले जनताको प्यारो नेताको सम्मान र उहाँको योगदानको कदर गर्न वडामै स्मृति कपको आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधिको रुपमा अलबहादुरले निर्वाह गरेको भूमिका अत्यन्त सन्तुलित र विकासमैत्री रहेको उल्लेख गर्नुभयो । 

भूकम्पपछिको पुनर्निर्माणको सन्दर्भलाई जोड्नुहुँदै उहाँले भूकम्प लगायतको विपदले गरेको क्षतिपछि सुरु हुने पुनर्निर्माण अभियानमा सामाजको संस्कृति र मौलिकता मिसिएको विकास आवश्यक रहेको उहाँले बताउनुभयो । महाधिवेशन प्रतिनिधि डाँगीले विकासमा राजनीतिक सहकार्य र एकता हुनुपर्ने र पर्यावरणको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोकाले अलबहादुर एउटा पार्टीको मात्र नभएर जनताको नेताको रुपमा स्थापित व्यक्तित्व भएको बताउनुभयो । उहाँले तत्कालिन वडा अध्यक्ष अलबहादुरको उपचारको क्रममा निधन पश्चात भएको उप चुनावबाट उहाँकै भाई मोतिराम खत्री निर्वाचित हुनुमा दाईको लोकप्रियता र सकारात्मक छाप प्रमुख रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अलबहादुरको योगदानको उच्च कदर गर्दै सदा स्मरण गर्नुपर्नेमा जोड दिनुभएको छ । 

113d2cf4-2609-48c8-b283-bc5c0de25133-1738679947.jpg

यसैबिच स्व. खत्रीको स्मरणमा सुरु भएको स्मृति कपमा विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको छ । पुरुष भलिबलतर्फ १८ टिमको सहभागिता रहेको छ भने भाले तान्ने, रस्साकस्सी, घैटोफोर, सटफुट लगायतका प्रतियोगिताहरु सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

भलिबलमा विजेता र उपविजेता हुने टिमलाई क्रमशः ५० हजार १५५ र ३० हजार १५५ नगद पुरस्कारको व्यवस्था गरिएको छ भने सान्त्वना हुने दुई टिमलाई १० हजार १०५ रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतिक्षालय हस्तान्तरण

स्मृति कप उद्घाटनकै अवसरमा स्व. खत्रीको स्मृतिमा निर्माण गरिएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस सानीभेरी ५ को वडा समितिले निर्माण गरेको प्रतिक्षालय कार्यक्रमका प्रमुख अतिथि एवम् नेता डाँगीले वडा अध्यक्ष मोतिराम खत्रीलाई हस्तान्तरण गर्नुभएको हो । 

वडा समितिले एक लाख ५० हजारको लगानीमा प्रतिक्षालय निर्माण गरेको जनाएको छ । 

वडा सभापति नरबहादुर खत्रीको अध्यक्षतामा भएको स्मृति कप उद्घाटन सत्रमा कांग्रेसका महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगीको प्रमुख आतिथ्यता र सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोकाको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष मोतीराम खत्री, वडा नम्वर ८ का वडा अध्यक्ष प्रेमबहादुर बिक, नेपाली कांग्रेस सानीभेरी गाउँपालिका उपसभापति गम्बर सिंह जैसी, वडा नम्वर ६ का सभापति दुर्गालाल जैसी लगायतको आतिथ्यता रहेको थियो । 

वडा समिति सचिव शैलेन्द्र बाँठाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल तरुण दलका वडा सचिव अजय बाँठाले स्वागत मन्तव्य राख्नुभएको थियो । स्मृति कप अन्तर्गतका विभिन्न खेलहरु माघ २५ गतेसम्म चल्ने बताईएको छ । 

f1fd063d-faa3-4be2-b373-d74f6c8172d6-1738679946.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्