नेभिगेशन
समाज

अनलाइन ठगीमा परेकी रुकुमकी एक महिला मृत अवस्थामा फेला

अनलाईन ठगीमा परेकी रुकुम पश्चिमकी एक महिला मृत अवस्थामा फेला परेकीछिन् । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -८ तल्लो आमडाँडा निवासी २१ वर्षीया जमुना रसाईली घर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

जानकारी अनुसार जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा पर्नु भएको थियो । केही दिन अघि उहाँलाई महङ्गो चिठ्ठा परेको म्यासेज गरेर उहाँसँग रकम बार्गेनिङ गरेको र सोही क्रममा जमुनाले करिब ३ लाख रुपैयाँ जम्मा गरिदिएको परिवारजनले बताएका छन् । 

जमुनाले १ दिन अघि आफूसँग भएको रकम, गरगहना बेचेर करिब ३ लाख रकम अपरिचित व्यक्तिको बैंकिङ खातामा हालिदिएको बताईएको छ । 

त्यसपछि जमुनालाई ब्लक गरेको र उक्त कुरा परिवारले थाह पाएपछि जमुना बिहीबार दिउँसोबाट सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । 

अनलाइन ह्याकरले ३ लाख जम्मा गरेपछि मात्रै लाखौं मूल्य बराबरको गिफ्ट पठाउन मिल्ने प्रलोभन दिएको बुझिएको छ । 

जमुनाका श्रीमान रोजगारीको लागि भारतमा रहनु भएको बताइएको छ । उहाँको घरमा एक छोरा, सासु, ससुरा र देवर हुनुहुन्छ । अहिले घटनास्थलमा प्रहरी चौकी सिम्लीबाट प्रहरी टोली पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज