नेभिगेशन
अर्थ/वाणिज्य

पापिनी मेला : साढे १२ लाखको कारोबार, करिब दुई लाख बचत

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा माघ १० गतेदेखि १८ गतेसम्म चलेको 'पापिनी मेला'को आयव्यय सार्वजनिक गरिएको छ ।

मेला आयोजक हाम्रो सरोकार रुकुम पश्चिमले शुक्रबार खलंगामा पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गरेको हो । सामाजिक गतिविधिलाई पारदर्शी र थप उदाहरणीय बनाउन आयव्यय सार्वजनिकसँगै सुझाव संकलन समेत गरिएको छ । 

हाम्रो सरकार रुकुमका परिकल्पनाकार मनोज बिकले मेलामा १२ लाख ५१ हजार ७७९ रुपैयाँको कारोबार भएको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले १ लाख ९८ हजार ८ सय २९ रुपैयाँ बचत गरेको छ । 

आम्दानीतर्फ स्टल बुकिङबाट दुई लाख २४ हजार सात सय, काठे पिङबाट १६ हजार दुई सय, फलामको पिङबाट ६ हजार, मेलामा संचालन भएका विभिन्न खेलबाट एक लाख २४ हजार, खुद्रा पसलबाट ३३ हजार ५५०, क्यामेरा शुल्कबाट दुई हजार पाँच सय, प्रायोजनबाट पाँच लाख ५७ हजार ५०९ रुपैयाँ आम्दानी भएको छ । 

त्यस्तै पुरुष भलिबल टिम दर्ता शुल्कबाट ८० हजार, महिला भलिबल दर्ता शुल्कबाट सात हजार पाँच सय र वडा कार्यालयले गरेको सहयोग बापत दुई लाख रुपैयाँ गरेर कुल १२ लाख ५१ हजार ७ सय ७९ रुपैयाँ आम्दानी भएको परिकल्पनाकार बिकले बताउनुभयो  ।

यसैगरी खर्चतर्फ प्रचारप्रसार ४९ हजार, विद्युत वाइरिङमा ३८ हजार ९६०, भौतिक निर्माणमा एक लाख २२ हजार २८०, स्टेसनरी तथा छपाइमा ५२ हजार १११, खेलकुद सामग्री खरिदमा एक लाख ४४ हजार ८८० रुपैयाँ खर्च भएको छ । 

मेस व्यवस्थापन तथा खाजा नास्तामा एक लाख २७ हजार ७१०, सुरक्षा व्यवस्थापन खर्चमा २६ हजार ३८०, जग्गा व्यवस्थापनमा ३१ हजार, सांस्कृतिक पुरस्कारमा ११ हजार, खेलकुद पुरस्कारमा एक लाख ८२ हजार २५०, रेफ्री खर्च ६३ हजार पाँच सय, खेल प्रशिक्षण ५४ हजार ४५० रुपैयाँ खर्च भएको परिकल्पनाकार बिकले जानकारी दिनुभयो। 

स्वास्थ्य सामग्रीमा चार हजार दुई सय, विविधमा ४२ हजार २०१ गरेर कुल १० लाख ५२ हजार ९३० रुपैयाँ खर्च भएको आयोजक हाम्रो सरोकोर रुकुम पश्चिमले जनाएको  ।

बचत भएको एक लाख ९८ हजार  ८ सय २९ रुपैयाँ सामाजिक कार्यमा लगानी गर्ने समेत संस्थाले प्रतिवद्धता जनाएको छ ।

७ नम्बर वडा अध्यक्ष एक्कबहादुर पाण्डेको अध्यक्षमा भएको कार्यक्रममा, नेकपा माओवादी केन्द्र मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, पत्रकार महासंघका अध्यक्ष गोपालप्रसाद रेग्मी अन्य पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन हाम्रो सरोकारका महासचिव प्रकाश विकले गर्नुभएको थियो  । 

उक्त अवसरमा सुझाव संकलन समेत गरिएको थियो ।कार्यक्रममा सहभागि अतिथि तथा सहभागीहरुले हाम्रो सरोकारले परम्परागत मेलालाई उचित व्यवस्थापन गरेर थप आकर्षक बनाईरहेको बताउनु भएको छ । आयोजकले मेलाको आर्थिक अवस्था पारदर्शी रुपमा सार्वजनिक गरेर नमूनायोग्य काम गरेको प्रतिक्रिया अतिथीहरुको रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्