नेभिगेशन
समाज

परिवार जम्मा भएर एउटै छानामुनि बस्ने रहर छ

  • मानसिंह बुढा

त्यस्तै १२/१३ वर्षको उमेर हुँदा मैले जन्मजिल्ला रोल्पा छाडेदेखि फर्किने मेसो मिलेको छैन । कलिलैमा घोडा–खच्चडमा सामान लोड गर्ने काम मिलेपछि रुकुम आएँ । केही वर्ष रुकुमका गाउँघरमा सामान लाद्ने काम गरेर गुजारा चलाए । सदरमुकाम मुसीकोट आउँदा भने ३५ वर्षजतिको थिएँ । त्यसयता सदरमुकाममै भारी बोक्ने काम गरिरहेको छु ।

भारी बोक्दाबोक्दै ६० वर्ष पुगेपछि त जीवन त्यसै सकिएजस्तो पो लाग्न थाल्यो । परिवारमा मसमेत श्रीमती, २० र १५ वर्षका दुई छोरी र १६ वर्षको एउटा छोरा छ । तर, कोही पनि सँगै छैनौं । जेठी छोरीले काठमाडौंमा खुद्रा पसल गर्छु भनेकी छ । कान्छी छोरी मावली (रुकुम पूर्वको खारबाङ) मा छे । छोरो यतै भएर पनि मसँगै बस्दैन । डुल्छ, खान्छ । कहिलेकसो भेट हुन्छ । तर, खास सम्पर्कमा छैन । श्रीमती र म पहिला सँगै बस्थ्यौं । खर्च बढेपछि उता त्रिवेणीको खारा गाउँमा एउटा घरमा बसेर उनले ज्यान पालेकी छिन् ।

परिवारमा ५ जना भए पनि सँगै बस्न नपाएको कुराले धेरै पिर लाग्छ । मेरो काम ज्यालादारी हो । कहिले आठ सयसम्म कमाइ हुन्छ, कहिले एक सय पनि पुग्दैन । महिनाको हिसाब गर्ने हो भने त्यही १५ देखि २० हजारसम्म हुन्छ होला । तर मुस्किलले १० हजार जति जेगिन्छ । त्यो पनि सधैं त कहाँ हुन्छ र ! पैसा बच्यो भने सहकारीमा जम्मा गर्ने गरेको छु । केही महिनाको कमाइ बचाएपछि फेरि एकैचोटि खर्च भैजान्छ । यसकारण बचत छैन ।

मसँगै काम गर्ने एक जना साथीसँग मिलेर बजारमा एउटा कोठा लिएका छौं । त्यसको भाडा १ हजार तिर्छौं, खाना पकाउँदा चाहिँ धेरै समय र पैसा खर्च हुने भएकाले मासिक ६ हजार तिरेर होटेलमा खान्छौं । खाजा त उस्तो खाइन्नँ । खानै परे त्यही ५०–६० रुपैयाँ खर्च हुन्छ । यस्तो गर्दा त १० हजारकै वरिपरि खर्च भैजान्छ ।

दुःख–बिराम पर्दा औषधि–उपचारमा सबैभन्दा धेरै खर्च हुने गरेको छ । कान्छी छोरी र छोराका लागि खासै खर्च छैन । तर ठूली छोरीले घाँटीमा समस्या छ भनेर भन्छे, अप्रेसन गर्नुपर्छ भनेको छ रे डाक्टरले । तर पैसा छैन । अस्तिनै १० हजार पठाइदिएको, अब फेरि कमाएपछि पठाउनुपर्ला । मलाई पनि उति सन्चो छैन, दिनभरि काम गरेर हातमुख जोड्न ठिक्क हुने हाम्रा लागि बिरामी परेपछि औषधि किन्न पैसा नहुँदा धेरैपल्ट भगवान्को नाम जपेर बसेको छु । कहिलेकाहीँ त यस्तो लाग्छ, हामीलाई औषधिले भन्दा पनि भगवान्ले बचाएका हुन् ।

मैले त नयाँ कपडा नकिनेको धेरै वर्ष भयो । पछिल्लोपल्ट पाँच वर्षअघि दसैंका बेला एक जोर लुगा किनेको याद छ । त्यसपछि किन्नै परेन । यतै काम गराउनेहरूले नै माया गरेर आफूले लगाएर राखेका र कसैले नयाँ पनि कपडा दिनुहुन्छ । त्यही लगाउँछु । यसमा मलाई धेरै खर्च छैन । तर चाडबाडका बेला परिवार र छोराछोरीलाई भने कपडा किनिदिनुपर्छ । अरु बेला उनीहरूले पनि जसोतसो टार्छन् । जेहोस्, कमाइ यस्तै–यस्तै कुराहरूमा खर्च भइरहेको छ । यसकारण वचत गर्न सकिरहेको छैन ।

काम गरिरहन पाउँ भन्ने कामनाबाहेक अरु ठूला सपना र रहर खासै छैनन् । केही गरी पैसा भइहालेमा चार दिशा छरिएर बसेका मेरो परिवार एकै ठाउँमा ओत लाग्ने घर बनाउने सपना छ । तर कहिले पूरा होला र यो सपना ! त्यो बेला रोल्पाको पाछाबाङमा हाम्रो घर थियो ।

बा–आमा मैले थाहा नपाउँदै बितेर गए । अनि परवारमा दाइ र दिदी थिए । घर छोडेदेखि उता गएको छैन । कहिलेकाहीँ घरको याद त आउँछ अनि घर जाने सुर पनि जाग्छ । तर जाने आँट गरेको छैन । उनीहरू (दाइ–दिदी) के–कस्ता होलान् झैं लाग्छ । कामै–काममा व्यस्त हुने भएर होला भावुक भएर सोच्ने समय पनि पाउँदिनँ । जिन्दगी यस्तै छ । प्रस्तुति : महेश केसी

(कान्तिपुरबाट साभार)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज