नेभिगेशन
समाज

'मिठो हुन्छ' भन्दै सञ्जीवनीको फल खाएका १७ विद्यार्थी बिरामी भएपछि अस्पताल भर्ना

विद्यालय नजिकै रहेको सञ्जीवनी (स्थानीय भाषामा रतन्चोदो) को फल खाएपछि बिरामी भएका सल्यानको एक विद्यालयका विद्यार्थीहरु अस्पताल भर्ना भएका छन् । 

सल्यानको कुमाख गाउँपालिका –४ स्थित त्रिवेणी आधारभुत विद्यालयका १७ बालबालिका रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना भएका हुन् । बान्ता आउने, रिङगाटा लाग्ने समस्या भएपछि उनीहरुलाई उपचारको लागि अस्पताल ल्याईएको हो । 

विद्यालयका प्रधानाध्यापक कल्पना शाहका अनुसार आईतबार दिउँसो विद्यालयको खाजा समयमा उनीहरुले विद्यालय नजिकैरहेको सञ्जीवनीको फल खाएको जनाएका छन् । त्यसपछि उनीहरुलाई वारम्वार वान्ता आउने, रिङगाटा आउने समस्या भएको थियो । विद्यार्थीहरु बिरामी भएपछि एम्बुलेन्स मगाएर अस्पताल ल्याईएको प्रधानाध्यापक शाहले जानकारी दिनुभयो । 

बिरामी पर्नेहरुमा कक्षा ६ मा अध्ययनरत तीन जना र अन्य शिशु कक्षा देखि चार कक्षासम्मका विद्यार्थीहरु रहेका छन् । उहाँका अनुसार एक विद्यार्थीहरुले ‘यो फल खानेकुरा हो, बदाम जस्तै मिठो हुन्छ, मैले पहिले पनि खाएको छु’ भनेपछि अन्य विद्यार्थीहरुले पनि खाएको खुल्न आएको छ । विद्यालय परिसरमा तारवार नहुँदा विद्यार्थीहरु खाजा समयमा बाहिर निस्कने गरेको उहाँको भनाई छ । 

चौरजहारी अस्पतालका मेडिकल डाईरेक्टर डा. निमरोद लिम्वुले विद्यार्थीहरुले हरियो रंगको वान्ता गर्ने गरेको बताउनुभयो । सबै विद्यार्थीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा आएका ६ वर्ष देखि ११ वर्ष उमेरका बालबालिकाहरु मध्य केहिमा भने रिङगाटा लाग्ने, वाकवाकी मात्रै आउने लक्षण रहेको छ । अस्पतालमा आएका केहि विद्यार्थीहरु भने उपचारपछि घर फर्किएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज