नेभिगेशन
अर्थ/वाणिज्य

बाँफिकोटमा वित्तीय साक्षरता सम्पन्न

विजय लघुवित्त वित्तीय संस्था रुकुम पश्चिमले संस्थामा आवद्ध भई वित्तीय कारोबार गरिरहेका सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सन्चालन गरेको छ ।

संस्थाले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले सोमबार बाँफिकोट गाउँपालिका–४ स्थित सहिद स्मृती भवनको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको औपचारीक उद्घाटन बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष के.सी.ले महिला दिदीबहिनीहरुले कुनै पनि संस्थाले दिएको ऋणलाई अवसरको रुपमा प्रयोग गरेर अनावश्यक खर्च नगरी सीपमूलक कार्यक्रम गर्न र आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभएको थियो ।

उक्त कार्यक्रममा लघुवित्तको आवश्यकता, सामूहिक जमानिको महत्व, बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताका कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, वीमा, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा, समयमा किस्ता भुक्तानी नगर्दा हुने कानुनी कारबाही लगाएतको विषय प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सहजिकरण गर्नुहुँदै संस्थाका अनुगमन अधिकृत हिमलाल ओली र शाखा प्रबन्धक रुद्र बहादुर विश्वकर्माले मिटर व्याज, ढुकुटी जस्ता गैरकानुनी बित्तीय कारोवार नगर्न अनुरोध गर्दै कर्जा सदुपयोग, आम्दानी भन्दा कम खर्च गर्ने बानिको बिकास, उद्यमशीलताको विकास गरी स्व उद्यम सञ्चालन गर्न, हातमा सिप नभई बैदेशिक रोजगारमा नजान र नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाहरुबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गर्नुभएको थियो । 

उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अनुगमन अधिकृत हिमलाल ओलीले गर्नुभएको थियो भने बाफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा के.सी.को प्रमुख  आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन मुसिकोट शाखामा कार्यरत कनिष्ठ सहायक सन्तोष खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा विजय लघुवित्त वित्तीय संस्था लि मुसिकोट शाखा प्रबन्धक रुद्र बहादुर विश्वकर्मा, शाखाका बरिष्ठ सहायक शेर बहादुर शाही, इलाका प्रहरी कार्यालय बाँफिकोटका प्रमुख राजेन्द्र कुमार राणा, बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का महिला वडा सदस्य कमला वि.क. लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिब ५७ जना सेवाग्राही तथा  सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य