नेभिगेशन
राजनीति

छर्लङ्ग देखिरहेछु जनयुद्ध 

युद्ध परस्पर विरोधीका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मार्ने आदी उद्धेश्यले गरिने आक्रमण, लडाइँ वा संग्राम हो । युद्धले विनाश सँगसँगै विकास र परिवर्तन पनि ल्याउँछ । 

कैयौँ युद्ध विनाशकारी मात्रै भए, युद्ध भए पश्चात परिवर्तन र विकास भएन । कुनै युद्धहरु विनाशकारी र परिवर्तन अनि विकासमुखी भए । यो सृष्टि उत्पन्न भएदेखि कतै न कतै, केही न केही विषय र प्रसङ्गमा युद्ध भएकै छन्।  

भगवान र राक्षसहरूको बिच,  महिसासुर र देवीहरूको बिच, जालन्धर र महादेवको बिच, देवता र राक्षस बिच, कौरव र पाण्डवहरूको बिच, राम र रावन बिच युद्ध भएकै हुन् । त्यस्तै पहिलो र दोस्रो विश्वयुद्ध, अङ्ग्रेजहरूसँग युद्ध, राणाहरूको बिच युद्ध, पञ्चायती व्यवस्था बिरुद्ध पनि युद्ध भएकै हुन् । 

जुन युद्धहरू भए ती युद्धहरूले के कति परिवर्तन र विनाश गरे त्यो आआफ्नै ठाउँमा विशेष छन्। ती युद्धहरूको बिचमा नेपालमा एउटा लामो युद्ध जुन युद्ध करिब १० वर्षभन्दा बढी चल्यो। त्यो युद्धको नाम हो, जनयुद्ध ।

तत्कालिन राज्य व्यवस्थाका बिरुद्ध जनताले गरेको युद्ध भएकोले जनयुद्ध भनियो । यो जनयुद्धमा देशभरिका जनताको साथ थियो, थिएन त्यो इतिहासले भन्ने नै छ । जनयुद्ध के का लागि थियो ?त्यसको लक्ष्य र उद्देश्य के थिए ? यसको गम्भिर समिक्षा भने पलपल जरुरी देखिन्छ । यो युद्धलाई जनयुद्ध, धनयुद्ध, मनयुद्ध भन्दै अनेक उपमा निदेन, ब्याख्या अनि अपब्याख्या गर्नेहरुकाे भिड बाक्लै देखिन्छ । जनयुद्धका असली कमाण्डरहरुले यो बारेमा स्पष्टता दिने भने आवश्यक छ । 

जनयुद्धले देश र जनताको जीवनशैली कति परिवर्तन भयो ? देश र जनताले निकास र विकास के पाए ? अन्याय, अत्याचार दमन शोषणमा परेकाहरूले मुक्ति पाए कि पाएनन्,? जनयुद्धमा सरिक भएकाहरू मात्रै पनि खुसी छन् कि छैनन् ? यी विषयको अन्योलता चिर्नपर्नेछ । 

जनयुद्धमा सरिक भएका जननायकहरू, प्रत्येक वर्ष फागुन १ मा जनयुद्ध दिवस मनाउँछन् । यो दिवसलाई हरेक नेपालीले मनाउनेगरी सर्वस्वीकार्य बनाउनुपर्नेतर्फ जनयुद्धका हिमायतिहरुले सोच्नुपर्ने हो । नेपालका हरेक नागरिकले मनाउनुपर्ने दिवस एउटा पार्टी र तिनका नेता कार्यकर्ताले मात्रै किन मनाउँछन् ? यो प्रश्न गम्भिर हो । 

२०५२ बाट जनयुद्ध सुरु भएतापनि मैले थाहा पाएको २०५४ साल तिरबाट हो । म बालर्क थिए। २०५४ सालको चुनावमा बम पट्काएको र चुनाव बिथोलिएको मलाई अझै याद छ। तत्कालीन शाही नेपाली सेनाको हेलिकप्टर आएर गोलाबार गरेर जंगलभरि आगो लागेको पनि थाहा छ । मानिसहरू तितरबितर भएर भागेको त्यो दिन म कहिल्यै बिर्सने छैन। 

म कक्षा ५ मा पढ्दै गर्दा प्रत्येक घरका नागरिक हाम्रो अभियानलाई सफल पार्न जानुपर्छ भन्दै घरमा दाई र बुवा नभएको बेला म नबालकलाई घुमाउँदै घुमाउँदै आमखोली भन्ने ठाउँमा जाँदै गर्दा तत्कालीन शाही नेपाली सेनाले सल्लीबजार आसपासमा गोली पड्काएको आवाज सातो गएको याद छ ।

हामी गएका सबै भागाभाग गरी जङ्गल पसेको र जसोतसो आफ्नो ज्यान जोगाएको म बिर्सन सक्दिन। हाम्रो अभियानलाई सफल पार्न गाउँका सबै जानुपर्छ भन्दै गाउँ पस्दा हामीहरु जानुपर्ने डरले हिउँदको चिसोमा रातभरि जंगल  बसेको म बिर्सन सक्दिन। घरको काम गर्ने क्रममा वन्चरोले बुवाको खुट्टा काटिएको बेला पनि हाम्रो अभियान सफल पार्ने भन्दै बुवालाई जबरजस्ती हिडाउँदा बुवाको आँखाबाट आँसु चुहिएको घटना बिर्सन सक्दिन। 

बुवाले परदेशमा खाए नखाई, रगत र पसिना घोटेर थोरै बचत गरी ल्याएको पैसाले मिठो मसिनो र सुकिलो मुकिलो लगाउने आशामा खुसी भएको बेला हामीलाई चन्दा चाहिन्छ भन्दै उक्त पैसा लिएको झन् म कसरी बिर्सन सक्छु र । यही प्रक्रिया पटकपटक दोहोरिएको पनि बिर्सन सकिँदैन।

आफूले खाने भनेर साहुबाट किनेर ल्याएको अन्नपात र खानपान १५, २० जनाको टोलीले एक हप्ता खाएको र आफू खाली पेट बस्नु पर्योको पनि बिर्सिन सकिन्न । कामै नआउने ठाउँमा सकि नसकी श्रमदान गरेको पनि बिर्सन सकिन्न। दुई पक्ष बिचकाे हत्या, हिंसा, काटमारले गर्दा कैयौँ वर्ष चाडपर्वहरू रुँदै रुँदै कटाएको पनि बिर्सन सकिन्न। 

राजा रानीका फोटो रहेका किताबहरू च्यात्न लगाई हाम्रा किताब आउँछन् भन्दै ती किताब नआएर र फेरि नयाँ किताब किन्ने पैसा नभएर केही महिना किताबै नपढी त्यत्तिकै परीक्षा दिएको पनि बिर्सन सकिन्न। अनिश्चित कालका लागि नेपाल बन्द गरी बीच बाटोमै अलपत्र परेको, पढाइ लेखाइमा बाधा भएको पनि बिर्सनै सकिन्न । 

जनश्रमदान भनी रोल्पाको तिला र गाई बिसाउने भन्ने ठाउँमा १०, १० दिनसम्म दुई पटक आफ्नै घरबाट राशन लत्ता कपडा बोकी कष्टपूर्ण यात्रा पार गरी घर फर्किएको पनि बिर्सन सकिन्न । "जमिन कसको ? -खेतबारी जोत्नेको । घर कसको ? -पोत्नेको । गाउँ गाउँमा सहकारी, घरघरमा भकारी" भनेका शब्द कानै भित्र गुन्जिरहेका छन् ती शब्द ती बोली पनि बिर्सनै सकेन । त्यसैले त्यो जनयुद्धलाई ऐनामा हेरे जस्तै छर्लङ्ग देख्दछु। 

गाउँ गाउँमा माओवादीको प्रभाव बढेपछि पहाडका जिल्ला सदरमुकाममा केन्द्रित भएको राज्यको सुरक्षा संयन्त्रले मच्चाउने बर्बरता झन बिर्सन सकिदैन । माओवादीलाई खानादिने,चन्दा दिने भन्दै गाउँका आम सर्वसाधारणलाई मरसन्नाद हुनेगरी कुटेको, पिटेको, उनीहरुलाई जंगल पस्न बाध्य बनाएका तमाम् घटना छन् । जिल्ला मुकामबाट गाउँ पस्दा हिंस्रक बनेका राज्यकै सेना प्रहरीको चरम दमनले घरमा बस्न सक्ने अवस्था नै थिएन । सम्झना अहिले नि मन झसंग हुन्छ । 

यद्धपी मुलुकको आमुल परिवर्तनको लागि जनयुद्ध जग नै बनेको हो । मुलुकमा समावेशीता, भेदभाव अन्त्यको सञ्चार यहि युद्ध पछि भयो । भलै यसले ल्याएका परिवर्तनहरु सर्वस्वीकार्य हुन सकिरहेका छैनन्। टुक्रा टुक्रा परेका माओवादी घटकहरु एक भएर जनयुद्धका उपलब्धिहरु देखाउन, बुझाउन नसकिए प्राप्त उपलब्धिहरुको संस्थागत विकासमा अवरोध रहिरहने छ । 

जनयुद्धका क्रममा वीरगति प्राप्त गर्नुहुने सम्पूर्णमा हार्दिक श्रद्धा सुमन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्