नेभिगेशन
खेल

तत्कालिन गुरिल्ला हिडेको बाटोमा गुरिल्ला म्याराथन, रुकुमका दुर्गा र जुम्लाकी कल्पना प्रथम

तत्कालिन बिद्रोही नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धताका माओवादी लडाकु (गुरिल्ला) हिंडेको बाटो र तालिम केन्द्र सञ्चालन भएको स्थल मौराखारालाई चिनाउन सुरु गरिएको मौराखारा गुरिल्ला म्याराथनको सातौ संस्करण आज सम्पन्न भएको छ । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित सातौ मौराखारा गुरिल्ला म्याराथनमा पुरुषतर्फ रुकुमपश्चिमका दुर्गा बुढा प्रथम हुनुभएको छ । जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको म्याराथनमा ५३ धावकहरुलाई पछि पार्दै बुढाले प्रथम स्थान हाँसिल गर्नुभएको हो । उहाँले निर्धारित ४८ किलोमिटर दुरी ४ घण्टा ५२ मिनेटमा पार गर्नुभएको हो । 

म्याराथन व्यवस्थापक सानीभेरी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका सचिव बालकुमार नकालका अनुसार रुकुमपश्चिमकै भुवन ओली द्वितीय हुनुभएको छ । उहाँले निर्धारित दुरी ४ घण्टा ५३ मिनेट पार गर्नुभएको हो ।

४ घण्टा ५७ मिनेटमा दुरी पार गर्नुभएका जुम्लाका शेरबहादुर बुढा तेस्रो, रुकुमपूर्वका शक्तिराम बुढा चौथो र रुकुमपश्चिमका अर्जुन बस्नेत पाँचौं हुनुभएको छ ।

त्यसैगरी महिलातर्फको दौडमा ३२ जना प्रतिश्पर्धीहरुलाई पछि पार्दै जुम्लाकी कल्पना बुढा प्रथम हुनुभएको छ । निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गरेर बुढाले प्रथम स्थान हात पार्नुभएको हो ।

जुम्लाकै राज्यलक्ष्मी रावत द्वितीय हुनुभएको छ । रावतले निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गर्नुभएको हो । आयोजकका अनुसार ३ घण्टा ५७ मिनेटमा दुरी पार गरेकी जुम्लाकी सन्दिपा बुढा तेस्रो हुनुभएको छ । जुम्लाकै मिमु बुढा चौंथो र समिता बुढा पाचौँ हुनुभएको छ । 

म्याराथनमा पुरुषतर्फको प्रथम पुरस्कार एक लाख, द्वितीय ७५ हजार, तृतिय ४५ हजार र चौथो पुरस्कार १५ हजार र दसौ जना आउनेसम्मको लागि समान तीन हजारका दरले पुरस्कार व्यवस्था गरिएको छ । 

महिलातर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्ने सदस्य सचिव नकालले जानकारी दिनुभयो । चौथो हुनेले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हाँसिल गर्ने धावकले समान तीन हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । 

सानीभेरी गाउँपालिकाले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन गर्दै आईरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल