प्रिय् ..........!
उस्तै माया, मस्तै सम्झना ।
प्रिय् ............, तिमीलाई सन्चै छ होला । म्यासेन्जर र वाट्सएपमा तिमीले क्रमशः ब्लक गर्यौ । मैले अन्तिम विकल्पको रुपमा भाइबर प्रयोग गरेर "Hi !" लेखेँ । तिमीले Hi को जवाफमा"Goodbye" लेख्यौ । तिमीलाई पनि याद होला । यो ठिक एक बर्ष पहिले आजकै दिन थियो । त्यसपछि तिम्रो र मेरो बातचित नभएको ठ्याक्कै बर्षदिन भएछ ।
अघिल्लो बर्षको आजकै दिन तिमीले भनेकी थियौ - "अब अनन्तर मलाई नसम्झिनु ।"
बस्, तिमीले त भनिदियौ -"अब नसम्झिनु ।"
तर म ?
अनि मेरो मन ?
मेरो मनको प्रकृति ठ्याक्कै उल्टो छ । तिमीले बिर्सिनु भनेको दिनदेखि यादका असिनाहरू झनझन कडा भएर आउन थाले । दिन बिते । रात बिते । महिना बिते । पत्तै नपाई बर्ष दिन पो बितेछ । मैले बितेका ३६४ दिन तिमीलाई भुल्ने कोशिश गरेपनि आज सकिन प्यारी । शनैशनै: भुल्दै थिएँ । आज फेरि यही दिनले झस्कायो । यादहरू फेरि उस्तै ताजातरोज भएर आए । तिमीले भनेकी थियौस समय बलवान छ । समय साँच्चिकै बलवान रहेछ ।
समयको पदचापले पच्छारेर आज तिमी र मलाई नदिका दुई किनार बनाएको छ । तिम्रो सम्झनामा फेरि एउटा पत्र कोर्दैछु । यो मेरो अन्तिम पत्र हुनेछ । म वा कसैलाई आज वा कुनैदिन साँचो प्रेम गरेको भए यो अन्तिम प्रेमपत्र नच्यातिदिनु । पढ्नु र च्यात्नु । बुझ्नु र फ्याक्नु । किनकी यो पत्र मैले पसिना, आँशु र रगतले लेखेको छु । देशको निम्ति बगाउँछु भनेको रगत, आँशु र पसिना आज भूपू प्रेमिकाको लागि सकाउन परेको छ ।
थुक्क ! मेरो भाग्य ।
अँ, आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस ।
कस्तो चल्दैछ भ्यालेन्टाइन डे ?
को सँग बित्दैछ आजको दिन ?
क-कसले के के उपहार दिए ?
म यो सोध्दिन् । अब त सोध्ने हक पनि रहेन क्यारे । तिमी प्रेम र प्रणय दिवस बुझ्ने भएको भए सायद आज हामी यसरी रोएर बस्नु पर्दैन्थ्यो होला । लाग्छ तिमीलाई त भ्यालेन्टाइन डेको बारेमा समेत केही पत्तो छैन् ।
*******
प्रिय,
प्रणय दिवसको ऐतिहाँसिकता रोम साम्राज्यसँग जोडिएको छ । हेहे, कसैको रुममा रत्तिएर बसेकी तिमीलाई के थाहा रोम देश बारे । के थाहा रोम सभ्यता बारे । के थाहा रोम साम्राज्य बारे र रोम सम्राट बारे । तेस्रो शताब्दीतिर यही रोम साम्राज्यमा 'क्लाउडियस' नामका एकजना सम्राट थिए । सम्राट भनेको राजा हो । सम्राट क्लाउडियसले आफ्नो देशको सैन्य दस्ताको आकार ठूलो बनाउने कुरा सोचे ।
त्यसका लागि उनले युवा र अझ अविवाहित युवाहरूलाई सैनिकमा भर्ना गर्ने उर्दी समेत गरे । धेरैजना युद्धमा संलग्न हुन चाहँदैन्थे । उनीहरू आफ्ना श्रीमती र परिवार छाडेर सेनामा भर्ति हुन चाहेनन् । सम्राट रिसले मुर्मुरिए। पुनः उनले सोचे, मान्छेले बिहे गरेन भने उसका परिवार (श्रीमती) हुने छैनन् र ऊ सेनामा टिकिरहने छ । उनले घोषणा गरे, 'अब उपरान्त रोममा कसैको बिहे हुनेछैन् ।'
*****
सबैका लागि त्यो घोषणा प्राकृतिक नियमको विपरित थियो । अप्राकृतिक थियो । सम्राटको आदेश त मान्नैपर्यो । यसले पारिवारिक जीवनमा उथलपुथल ल्यायो । सम्राटको उर्दी कसले इन्कार गर्नु । तर संयोगले रोममा 'भ्यालेन्टाइन' नामका एकजना पादरी थिए । उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान, मैदान हुँदै यो कुरा सम्राटको कानसम्म पुग्यो ।
सम्राटको आदेश बिपरित कार्य गरेको आरोपमा भ्यालेन्टाइनलाई पक्राउ गरियो । थुनियो जेलमा । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । पादरीलाई फासी दिने निधो भयो । झुण्ड्याइनु अघि पादरी भ्यालेन्टाइनले 'लभ फ्रम योर भ्यालेन्टाइन' भनेर हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । भ्यालेन्टाइनलाई फाँसी दिइयो तर ती महिलालाई भ्यालेन्टाइनले दिएको नोटबाट नै भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने प्रचलन चलेको विश्वास गरिन्छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनबाट नै ‘भ्यालेन्टाइन्स डे’ मनाउन थालिएको हो । यसबाट के चाहिँ पुष्टि हुन्छ भने प्रेममा पुरानो इतिहास र परिभाषा लुकेको छ ।
प्रेम गर्नु मानिसको प्राकृतिक स्वभाव हो । त्यसैले आजभोलि प्रेमसँग सरोकार राख्ने कैयौँ घटनाहरू पनि सुनिने गर्छन् । अखबारहरूमा तिमीले पनि पढ्ने गरेकी छौ होला । ‘मिलन–विछोड’का कुराहरू भोग्ने क्रममा छ्यौ होला । भोगिसकेकी छ्यौ होला । जे होस्, तिमीलाई सम्बोधन गरेर भ्यालेन्टाइनमा एउटा सन्देश लेख्ने अवसर पाउँदा हाम्रो प्रेमले न्याय पाएको महसुस गरिरहेको छु । हाम्रो प्रेमले सार्थकता पाएको अनुभुत गरेको छु ।
*****
प्रिय् ..........., नेपालमा पनि पछिल्लो समय प्रणय दिवस लोकप्रिय हुँदै गएको छ । विशेष गरी शहरी क्षेत्रका युवायुवतीहरू माझ यसले राम्रो स्थान पाएको छ । अस्ति सम्म नेपालमा प्रणय दिवस थाहा थिएन। उसको मायाले तिमीलाई र प्रणय दिवसले नेपाली संस्कृतिलाई गाँज्न थालेको सँगसँगै हो क्यारे । नेपालमा टेलिभिजन, इन्टरनेट र विदेशी फिल्महरूको प्रभाव बढेपछि प्रणय दिवसबारे जानकारी फैलिन थालेको जस्तो मलाई लाग्छ ।
हिन्दी, अङ्ग्रेजी चलचित्र तथा म्युजिक भिडियोहरूले प्रेम दिवसलाई ग्ल्यामरस बनाएर देखाएपछि नेपाली युवायुवतीमा यसको चासो बढ्न थालेको हो । टिकटक, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदिको लोकप्रियतासँगै प्रणय दिवस झनझन चर्चित हुन थालेजस्तो मलाई लाग्छ ।
तिमीले नबुझेको र मैले बुझाउन नसकेको प्रेमका जस्तै प्रेम दिवसका सकारात्मक र नकारात्मक दुबै पक्ष देखिएका छन् । प्रणय दिवसले प्रेमीप्रेमिकाबिच भावनाहरू आदान-प्रदान गर्ने अवसर प्रदान गर्छ।जोडीहरूबीच समझदारी बढ्ने र सम्बन्ध सुदृढ हुने सम्भावना हुन्छ ।
युवा पुस्ताबिच खुलेर अभिव्यक्त हुने संस्कृति बिकास हुन्छ । प्रणय दिवसले युवा पुस्तालाई प्रेम अभिव्यक्त गर्न सहज बनाएको छ । होटल, रेस्टुरेन्ट, फूल पसल, गिफ्ट पसल र अनलाइन सपिङ साइटहरूले राम्रो व्यापार गर्छन् । प्रेम दिवसका विशेष अफरहरूकै कारण बजारमा आर्थिक गतिविधि ह्वात्तै बढ्छ।
*****
प्रिय् .............., मेरो र तिम्रो प्रेम जिन्दगीका नकारात्मक पक्षहरू जस्तै प्रणय दिवसका पनि थुप्रै नकारात्मक पक्षहरू छन् । पहिलो कुरा त यसले अनावश्यक खर्च बढाएको छ । हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएका देशमा उपहार, गिफ्ट, फूल, रेष्टुरेन्ट खर्चहरू बढेर आर्थिक भार पर्नु राम्रो हो जस्तो मलाई लाग्दैन् । प्रेमको सट्टा महँगा उपहारको आधारमा सम्बन्धको मापन हुन थालेको देखिन्छ।
यसले हामी जस्ता गरिब दुस्खीका दिन गएजस्तो लाग्छ । कतिपय ठाउँमा प्रणय दिवसका नाममा अवाञ्छित क्रियाकलापहरू हुने गरेका खबरहरू आउँछन् । सार्वजनिक स्थलहरूमा भीडभाड, अभद्र व्यवहार देखिन थालेका छन् । यो त संस्कृतिका नाममा भित्रिएको बिकृति होइन् र रु भ्यालेन्टाइन डेलाई मिलनको पर्व भनेर पनि भन्ने गरिन्छ । त्यसैले त धेरैजसो जोडीहरू प्रेम प्रस्ताव राख्नुपर्दा भ्यालेन्टाइन डे पर्खेर बसेका हुन्छन् ।
हुनसक्छ, हाम्रो समाज अझै खुलिसकेको छैन् । पश्चिमा संस्कृति भित्रिएकोमा चिन्ता व्यक्त गर्नेहरू पनि छन् यही समाजमा । भ्यालेन्टाइन डेलाई एउटा उत्सवको रुपमा मनाउने पनि छन् यही समाजमा । म तिमीले भ्यालेन्टाइन डे मनाउनै पर्छ भनेर त सुझाव दिन्नँ तर यसका राम्रा पक्षहरूको अनुसरण भने तिमीले गर्नैपर्छ । भ्यालेन्टाइनले एकातिर साथीभाइमा मित्रताको सद्भाव राखेको छ भने अर्कातिर विकृति पनि थपेको छ ।
हरेक बर्ष फेब्रुअरी १४ तारिखमा विश्वभर मनाइने भ्यालेन्टाइन डे आजभोलि युवामाझ लोकप्रिय बन्दै गएको छ । त्यसैले त वर्षौँवर्ष पहिले विछोड भएका प्रेमीप्रेमिका पनि भ्यालेन्टाइन डेका अवसरमा भेट हुने गरेका छन् । अझ हाम्रो जस्तो रोजगारीका लागि विदेशिनु पर्ने देशमा त भ्यालेन्टाइनले थप महत्व थपेको छ ।
रोजगारीका लागि विदेश पुगेका युवा आफ्ना छोराछोरी र परिवारमा माया र सद्भाव साटासाट गर्न भ्यालेन्टाइन डेको अवसर पारेर घर फिर्नेहरू पनि कति छन् कति । भ्यालेन्टाइन डेको महत्व त उनीहरूलाई पो सोध्नुपर्छ, जो आफ्नो परिवारसँग माया साट्न सात समुन्द्र पारीबाट घर फर्किरहेका छन् ।
*****
प्रिय् .............जी, तिमीसँग भ्यालेन्टाइनले जुराएका असरहरूको बारेमा पनि कुरा गरौँ । आजभोलि भ्यालेन्टाइन डेसँग जोडिएर कैयौ घटनाहरू सार्वजनिक हुने गरेका छन् । युवा पुस्तामा यौवनसँग जोडिएर आएका घटनाहरू विकृति होइनन् भनेर अस्वीकार गर्न पनि मिल्दैन ।
भ्यालेन्टाइनले गम्भीर असर पनि पारेको छ । भ्यालेन्टाइनले माया र सद्भाव साटासाट गर्नुको साटो प्रेम गर्नतर्फ युवापुस्तालाई उद्यत गरेको पाइन्छ । धेरैजसो राम्रा कुराहरूसँग जोडिएर नराम्रा कुराहरू पनि आउने भएकाले यस्ता स्वभाविक घटनाहरुलाई सच्याउँदै लानु तिम्रो र मेरो पनि दायित्व हो ।
प्रिय् भूपू मायालु अब तिमीलाई अझ खास कुरा भन्छु । हेर त, विकृतिले मानिसलाई कति चाँडै सखाप पार्दोरहेछ, आजभोलि सार्वजनिक हुने अधिकांश आत्महत्याको तथ्यांक हेर्ने हो भने प्रेमसँग जोडिएका घटनाहरू धेरै छन् । आर्थिक वर्ष २०८०/०८१ मा देशभर ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । मेरो हुन नसकेको ससुराली तिम्रै प्रदेश अर्थात कोशी प्रदेशमा सबैभन्दा बढी १ हजार ५ सय ५६ जनाले गत आर्थिक बर्षमा आत्महत्या गरेका छन् । जुन तथ्यांकअुनसार नेपालमा औसत हरेक दिनमा २० जनाले अत्महत्या गर्दा रहेछन् । ओहो १ बुझ्यौ नि एकैदिनमा २० जनाले आत्महत्या । जसमा महिलाहरूले बढी मात्रामा आत्महत्या गरिरहेको पाइन्छ । डाक्टरहरू भन्छन् - 'डिप्रेशनका कारण अधिकांशले आत्महत्या गर्छन् ।"
यो भनेकै माया र सद्भावसँग जोडिएको छ नि, होइन र ?
जिन्दगी कसैको सोचेजस्तो हुँदैन् । ९० डिग्रीको सपाट कोण बनाएर चल्दैन कसैको जिन्दगी । नारायण गोपालको गित जस्तै हो जिन्दगी -
"यो जिन्दगी खै के जिन्दगी
मर्ने रहर छ बाँच्न सकिन
बाँच्ने रहर छ मर्न सकिन
यो जिन्दगी खै के जिन्दगी .....................।"
तिमीलाई र तिम्रो बर्तमान प्रेमीलाई वा समाजमा हरकोहीलाई यस्तो नकारात्मक सोच आउनसक्छ । आत्महत्या गर्ने सोँच आयोभने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु वा नेपालमा उपलब्ध आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा फोन गर्नु । मृत्यु समस्याको समाधान होइन् । तिमी यी सबै कुराबाट राम्रा र नराम्रा कुरा छुट्याएर अगाडि बढ्नुपर्छ । हरेक कुराको खराब पक्ष हुन्छ, त्यसैले यसबाट तिमी जोगिनुपर्छ । असल र खराब पक्ष प्रणय दिवसका पनि छन् ।
अन्त्यमा, हाम्रो माया अजर बनोस् । हाम्रो प्रेम अमर बनोस् । फेरि पनि तिमीलाई मुटुभरिको माया । फेरि पनि तिमीलाई प्रणय दिवसको हार्दिक मङ्गलमय शुभकामना ।
उही तिमीलाई सदा माया गर्ने शुभेच्छुक
गणेश सिर्पाली