नेभिगेशन
समाज

चौरजहारीमा नियम विपरीत सञ्चालित अटो नगर प्रहरीको नियन्त्रणमा

रुकुम पश्चिमको चौरजहारीमा नियमित विपरीत सञ्चालनमा रहेको अटो रिक्सा नियन्त्रणमा लिईएको छ । 

चौरजहारी नगरपालिकाको नगर प्रहरी टोलीले नियम विपरीत सञ्चालनमा रहेका  १८ वटा अटो नियन्त्रणमा लिएको हो ।  

व्यवसाय दर्ता, नवीकरण र रुट परमिट नलिई सञ्चालन भइरहेका अटोहरूलाई  नगर प्रहरी टोलीले गत बुधबार देखि नियन्त्रणमा लिन थालेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिका कार्यालयबाट नगर प्रहरी सहायक निरीक्षक प्रदीप महताराको कमाण्डमा खटिएको नगर प्रहरी टोलीले अटो सञ्चालन अवस्थाको बारेमा जेकजाँच गरेको थियो । अटो नियन्त्रणमा लिएपछि अटो व्यवसायीले नियमानुसार दर्ता, नवीकरण र रुटपरमिट लिन थालेका छन् ।

दर्ता, नवीकरण र रुटपरमित वापत बुधबार मात्रै एक लाख ३५ हजार राजश्व समेत सङ्कलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिकाको मुख्य बजार क्षेत्रमा करिव ५० वटा अटोहरू सञ्चालनमा रहेको अनुमान छ । नगरपालिका कार्यालयले पटकपटक व्यवसाय दर्ता तथा नवीकरणका लागि सूचना आह्वान गर्दा समेत वेवास्ता गरेपछि नगर प्रहरी टोली परिचालन भएको हो । 

व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भए नभएको, दर्ता नवीकरण गरेर पनि नियमानुसार सञ्चालन भए, नभएको सम्बन्धमा नगर प्रहरीले नियमित चेकजाँचको कार्यलाई तीव्र बनाएको छ ।

व्यवसाय दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेका सबै व्यवसायीहरूलाई एक हप्ताभित्र अनिवार्य दर्ता, नवीकरण गर्न निर्देशन गरिएको छ । हप्ता दिनभित्र दर्ता नवीकरण नगरे जरिवाना लगायतका थप कार्वाही अघि बढाइने नगरपालिकाले जनाएकोछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज