नेभिगेशन
समाज

रुकुम पश्चिममा भूकम्प प्रभावितको अस्थायी टहराको दोस्रो किस्ता निकासा

हालसम्म दोस्रो किस्ताको लागि मात्रै ३१ हजार ८८१ जना लाभग्राहीको लागि ७९ करोड ७० लाख २५ हजार रुपियाँ निकासा

रुकुम पश्चिममा भूकम्पबाट घरबासविहिन बनेका प्रभावितहरुको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ता वापतको रकम निकासा भएको छ । भूकम्प गएको १५ महिनापछि सरकारले टहरा निर्माणको रकम निकासा गरेको जनाएको छ । 

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केन्द्रिय विपद् व्यवस्थापन कोषबाट अस्थायी आवासका लागि भुक्तानी दिन बाँकि रकम जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त भएपछि सम्बन्धित पालिकाहरुमा निकासा पठाईएको हो ।

सहायक प्रजिअ रेग्मीले रुकुमपश्चिमका १५ हजार ८८१ जना भूकम्प प्रभावितहरुको टहरा निर्माण वापतको दोस्रो किस्ताको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा पठाईएको बताउनुभयो । यस अघि प्रथम किस्ता वापत २५ हजार रुपियाँको दरले अनुदान रकम प्राप्त गरी टहरा निर्माण गरिसकेका लाभग्राहीहरुको दोस्रो किस्ताको लागि ३९ करोड ७० लाख २५ हजार रुपियाँ निकासा गरिएको हो । 

सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार दुई किस्तामा टहरा निर्माणको रकम दिने व्यवस्था गरेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार रुकुमपश्चिममा ३२ हजार ९९६ जना भूकम्पपीडित लाभग्राही कायम भएका छन् ।

जसमध्ये १६ हजार जनालाई गत आर्थिक वर्षमा नै दोस्रो किस्ताको रकम भुक्तानी भईसकेको छ भने १५ हजार ८८१ जनालाई यसपटक निकासा पठाईएको हो । सम्बन्धित पालिकाहरुको मागको आधारमा नै उक्त रकम निकासा गरिएको हो । 

प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकाका तीन हजार ९१२, आठविसकोट नगरपालिकाका सात हजार ३८१, मुसीकोट नगरपालिकाका एक हजार ६१०, त्रिवेणी गाउँपालिकाका ३३७ जना र बाँफिकोट गाउँपालिकाका दुई हजार ६४१ जना लाभग्राहीको लागि दोस्रो किस्ताको रकम निकासा गरिएको हो ।

गत आर्थिक वर्षमा चौरजहारीका दुई हजार ९५४, आठबिसकोटका तीन हजार १३, सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ र त्रिवेणीका चार हजार ३८८ लाभग्राहीलाई दोश्रो किस्ताको रकम उपलब्ध गराईएको थियो । सहायक प्रजिअ रेग्मीले हालसम्म जिल्ला विपद् कोषबाट दोस्रो किस्ताको लागि मात्रै ३१ हजार ८८१ जना लाभग्राहीको लागि ७९ करोड ७० लाख २५ हजार रुपियाँ निकाशा भएको जानकारी दिनुभयो । 

पालिकाको खातामा रकम निकाशा गएपछि अब लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने भएका छन् । आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले ढिला गरेर भएपनि दोस्रो किस्ताको रकम निकाशा पठाईएको खबर आएको बताउनुभयो ।

उहाँले पहिलो किस्ताको रकमपछि टहरा निर्माण गरेका अधिकांस प्रभावितहरुले दोस्रो किस्ता नै नपाउँदा गुनासो गर्ने गरेकोले उक्त समस्या अब समाधान हुने विश्वास व्यक्त गर्नुभयो । अब पालिकाले सम्बन्धित लाभग्राहीको खातामा दोस्रो किस्ताको रकम जम्मा गर्न ढिलाई नगर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्