नेभिगेशन
समाज

रुकुममा छोराको बिहेको निम्तो दिन गएकी महिला मृत अवस्थामा फेला

रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ । 

मुसिकोट नगरपालिका –१२ जमारी निवासी ४० वर्षीया ईश्वरी कामी घर नजिकैको भिरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज बिहान कामीको शव घरभन्दा करिब पाँच सय मिटर परको भिरमा फेला परेको हो । 

उहाँका अनुसार मृतक कामीका छोराको फागुन ९ गते (पर्सी) बिहे भएकोले आफन्तहरुलाई निमन्त्रणा दिन भनेर उहाँ हिजो (मङगलबार) बिहान घरबाट निस्कनुभएको थियो । निम्ता दिन गएको मान्छे घर नफर्किएपछि खोजीमा निस्केका आफन्तहरुले घर नजिकैको भिरमा रहेको गोरेटोबाट करिब दुई सय मिटर तल खसेको अवस्थामा उहाँको शव फेला पारेका थिए । 

आफन्तको दिएको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाठकको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले घटनास्थल मुचुल्का लगायतका प्रक्रिया पुरा गरेर पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल सल्लेमा ल्याएको छ । 

पोष्टमार्टम रिपोर्टपछि थप विवरण आउने र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज