नेभिगेशन
समाज

चौरजहारीबाट सुरु भयो भूकम्प प्रभावित घरहरूको विस्तृत क्षतिको आँकलन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट भूकम्प प्रभावित निजी आवासको विस्तृत क्षति आँकलन (डिडिए) गर्ने कार्य सुरु भएको छ ।

२०८० कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण निजी आवासमा क्षति भएकोले पुनर्निमार्णका लागि विस्तृत क्षति आँकलन  कार्य सुरु गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राविधिकहरूलाई तालिम प्रदान गरी विस्तृत क्षतिको आँकलनको लागि विवरण सङ्कलन गर्न खटाएको छ । 

जनप्रतिनिधि, राजनीतिक दलसहित सरोकारवालासमेतको उपस्थितिमा विस्तृत क्षतिको आँकलन बारे मङ्गलबार नगरपालिका कार्यालयमा अभिमुखीकरणसमेत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो।  

बुधबार भने चौरजहारी नगरपालिका वडा नम्बर १ बाट निजी आवासको क्षतिको विवरण सङ्कलन गर्न थालिएको छ । वडा नम्वर १, २ र ३ का लागि चार जना प्राविधिकहरू खटाइएको छ । पहिलो दिन वडा नम्वर १ का ३० वटा घरको विस्तृत क्षति आँकलन गरिएको ढकालले बताउनुभयो । 

विस्तृत क्षति आँकलनबाट संकलित आर्थिक, सामाजिक र प्राविधिक तथ्याङ्क समेतको विश्लेषण गरी निजी आवासको क्षतिको स्तर यकिन हुने बताईएको छ । यकिन गरिएको क्षतिको स्तरका आधारमा प्रबलीकरण  वा पुनर्निर्माण वा पुनर्स्थापना सम्बन्धी कार्यक्रम सञ्चालन हुनेछ । 

वडा नम्वर १० देखि १४ सम्म विस्तृत क्षति आँकलनका लागि थप ९ जना प्राविधिकले बिहीबारदेखि काम सुरु गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । विस्तृत क्षति आँकलनको काम नियमित रूपले सञ्चालन हुने भएकोले यथार्थ सूचना दिइ आवश्यक सहयोग र सहजीकरण गर्न जनप्रतिनिधि, राजनीतिक दलसहित स्थानीयवासी सबैलाई नगरपालिका कार्यालयले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्