रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्वर –३ दहमा ३५ वर्षअघि मेरो जन्म भएको हो । २०५७ मा रुकुम पश्चिमको स्यार्पुताल प्राविमा कक्षा ५ मा पढ्दै गर्दा अनेरास्ववियुको कोषाध्यक्ष भएँ । बैठकमा प्रतिव्यक्ति ५ रुपैयाँ लेबी उठाउँथ्यौं । कक्षा ६ पढ्न बाफीकोट गएँ । जिल्ला कमिटीमा आबद्ध भएँ । एक किसिमले राजनीतिको नसा लाग्यो ।
अनेरास्ववियु नै मेरो राजनीतिको मूल ढोका थियो । २०६२ मा एसएलसी दिएँ । त्यतिबेलासम्म अनेरास्ववियुमा सक्रिय भएँ । २०६३ मा अखिल नेपाल महिला संघको जिल्ला सदस्य भएँ । त्यतिबेला पत्रपत्रिकामा लेख लेख्थें । त्यतिबेला जन्तीधारा साप्ताहिक पत्रिका निस्कन्थ्यो । पत्रिकामा नाम आएपछि खुसी लाग्थ्यो । आफन्तलाई देखाउँथें । सिस्ने एफएममा समाचार लेख्थें । जिविसमा धेरै कार्यक्रम हुन्थे । कार्यक्रमको रिपोर्टिङ गरेर एफएममा समाचार दिन्थें ।
अनेमसंघमा एक कार्यकाल बिताएँ । प्रेस चौतारी हुँदै नेपाल पत्रकार महासंघमा पनि प्रतिनिधि भएँ । पत्रकारिता गर्दै स्वास्थ्य विषयमा स्नातकोत्तर पनि गरें । पढ्दापढ्दै तीन वर्षसम्म स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको सामाजिक परिचालक पनि भएँ । आर्थिक अभावपछि बिदेसिने मोडमा थिएँ । बुवालाई अपांगता भएकाले हेरचाह गर्नुपर्ने भयो । अनि विदेश जाने सोचबाट हच्किएँ ।
बुवा दत्तबहादुर मल्ल एमालेको सक्रिय राजनीतिमा लागेकाले म पनि एमालेमै आकर्षित भएँ । बेला–बेलामा पहुँच स्थान नभएको सोचले मनोबल कमजोर हुन्थ्यो । तर शुद्ध मनले कर्म गर्दा फल प्राप्त हुँदो रहेछ । त्यो मैले बुझें । महिलालाई राजनीति गर्न निकै चुनौती रहेछ । अस्तित्वका कुरा पनि आउने रहेछन् । हाम्रो सफलतामा अस्तित्वको चर्चा हुने रहेछ ।
अब बाँकी जीवन एमालेमै समर्पित गर्ने हो । एमालेबाट प्रत्यक्ष निर्वाचन लड्ने धोको छ । २०७९ मा कर्णाली प्रदेशसभामा समानुपातिकतर्फ खसआर्य महिला सूचीबाट प्रदेश सांसद भएँ । बन्द सूचीका लागि नाम पठाए पनि सांसद हुन्छु भन्ने लागेको थिएन । समानुपातिकका लागि नाम पठाइसकेपछि कतिपय नेताले मेरो नाम काटिदिएका थिए । ६ जना महिलाको नामसँगै मेरो नाम पठाउन नेताहरू हच्किए । मेरो नाम अन्तिम नम्बरमा थियो । मैले जिल्लामा सहमतिमा आएको नामसमेत काटियो भनेर गुनासो गरें ।
जिल्लामा जे विवाद भएको त्यो कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेछ । उहाँबाट माननीय हुनुभयो भनेर फोन आयो । त्यतिबेला खुसीले रोएँ । बुवाको स्वास्थ्य सोध्नुभयो । बुवा बिरामी हुनुहुन्छ भन्ने थाहा थियो । अहिले पनि भेटिँदा बुवाको स्वास्थ्य सोध्नुहुन्छ ।
महिला भएकै कारण मैले धेरै पीडा भोगें । ३३ वर्षको उमेरमा सांसद बन्न सफल भएँ । मैले इमानदार भएर काम गरेको देखेर पार्टीले पनि धेरै जिम्मेवारी दियो । २०७७ सालमा राष्ट्रिय भूमि आयोगको विज्ञ सदस्य भएँ । भूमिहीन सुकुम्बासीहरूका पक्षमा काम गर्ने अवसर पाउँदा एकदम खुसी लाग्यो ।
समानुपातिक सांसद भनेको विधायन मात्र बनाउने रहेछ भन्ने बुझाइ छ । यो मात्र सही होइन, विधायनदेखि जनताका समस्या मुखरित गर्ने, विकास निर्माणमा सहजीकरण गर्ने काम पनि हो । तर हामीकहाँ विकास निर्माणको पहल गर्ने काम प्रत्यक्ष निर्वाचित सांसदको हो भन्ने बुझाइ छ, वास्तवमा यो गलत हो । विकासको पहल हामी समानुपातिकले पनि गर्न सक्छौं ।
प्रदेशसभामा महिलाका विषयमा धेरै कुरा उठाएको छु । प्रदेशसभामा बोल्न त पाइन्छ तर कार्यान्वयन नहुने रहेछन् । यसमा धेरै चरण पार गर्नुपर्ने रहेछ । नीतिगत रूपमा जानुपर्छ । बोल्नबित्तिकै हुँदैन, कानुन बनाउनुपर्छ । सातवटा विधेयक पास गरेका छौं । त्यो काम गर्न पनि प्रक्रिया लाग्छ ।
आफूले दुःख पाएको कारण मैले त प्रदेशसभामा महिलाका कुरा मात्र जोड दिएको छु । सक्षम हुनुपर्छ नभए धेरै दुःख पाइन्छ भन्ने थाहा भएको छ । महिलालाई धेरै चुनौती छ । घरपरिवारदेखि सबै धान्नुपर्छ । पुरुषसँग जोडेर टीकाटिप्पणी गर्ने गर्छन् । क्षमताको कुरा हुँदैन ।
दुई वर्षको कार्यकाल सन्तोषजनक रूपले बित्यो । मलाई समानुपातिक पदले पुगेको छैन । प्रत्यक्ष चुनाव लड्ने हो । महिलालाई राजनीतिमा निकै गाह्रो हुने रहेछ । घरदेखि सदनसम्मका धेरै भोगाइ छन् मेरा । निकै पीडा छन् । जति सक्षम भए पनि महिला हो भन्छन् । समानुपातिक पद त हामीलाई बाध्यकारी जस्तो हो ।
हामीसँग कति क्षमता छ भन्ने कुरा पुरुषले मापन गर्न नै सक्दैनन् । समानुपातिक र प्रत्यक्ष भनेर विभेद गरिएको छ । त्यस्तो विभेद हटाउन हामीले प्रदेशसभाभित्रै संघर्ष गर्नुपरेको छ । समानुपातिकमा मात्रै महिलालाई लडाउने होइन, प्रत्यक्षमा पनि लड्न पाउनुपर्छ । हामी महिला प्रत्यक्ष चुनाव पनि लड्न सक्षम छौं ।
समाजको परिवर्तन राजनीतिबाटै हुने गर्छ । राजनीतिमा धेरै अवसर पनि छन् । राजनीतिमा आफन्तवाद हाबी छ, त्यसको अन्त्य हुनुपर्छ । सक्षम र योग्यलाई हेर्नुपर्छ । राजनीतिमा भएका विकृतिलाई सुधार गर्नुपर्छ । सकारात्मक कुरा ल्याउनुपर्छ । राजनीतिमा लागेका सबै राम्रो हुन्छन् भन्ने छैनन् । कमजोरीलाई हटाएर सकारात्मक कुरा अवलम्बन गर्नुपर्छ । वितृष्णाका कारण सबै विदेश गएका छन् । नेता र जनप्रतिनिधिले बिगारे भन्ने भाष्य छ । हामीले सोचविचार गरेर काम गर्नुपर्नेछ ।
राजनीति गर्दा आर्थिक समस्या उत्तिकै हुन्छ । उचित मूल्यांकन हुन्न । निरन्तरता पनि आवश्यक पर्छ । कुनै पनि पेसा क्षेत्रमा सफा मनले निरन्तरता दिएपछि अवसरचाहिँ खोज्दै आउने रहेछन् भन्ने महसुस भएको छ ।
- मल्ल कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ ।
(कान्तिपुरमा 'उम्मेदवारीमा समानता' शिर्षकमा प्रकाशित मल्लको यो आलेख सान्दर्भिक लागेर साभार गरिएको हो ।) - सम्पादक