नेभिगेशन
समाज
खारा घटनाको २५ वर्ष 

१५ जनाको सामुहिक हत्या, ८६ घरगोठमा आगजनी

पीडितलाई न्याय र राहतकै पर्खाइ

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ खारामा सशस्त्र द्वन्द्वका नाममा १५ जनाको सामुहिक हत्या र सिङगो गाउँ आगजनी भएको २५ वर्ष वर्ष पुरा भएको छ । २०५६ साल फागुन १० गते भएको घटनाका पीडितहरुले न्याय र राहतको आशामै २५ वर्ष बितेको दुःखेसो पोखेका छन् । 

यहि घटनामा श्रीमान्, जेठो छोरा र देवरको छोरा गुमाउनु भएकी ७१ वर्षीया राती ओलीले अझैसम्म न्याय पाउन नसकेको बताउनुभयो । उहाँका श्रीमान् त्रिभान, जेठो छोरा धनबहादुर र देवरको छोरा लालबहादुरसहित कुरल गाउँका सात जनालाई एउटै लाईन बनाएर तत्कालिन राज्यपक्षका प्रहरीले गोली हानेका थिए ।

त्यो क्षण स्मरण गर्दै रातीले भन्नुभयो, ‘आँगनमा लहरै बनाएर गोली हाने, हामी केराको बोटमुनी लुकेर बाँच्यो, माईला छोरालाई कुट्दासम्म कुटे, मर्यो भरेर खोल्सामा फाले ।’ त्यो दिनपछि रातीको शरिरमा घाम परेको छैन । राज्यले मृतकका परिवारलाई दश लाख राहत दिएपनि निर्दोष व्यक्ति मारिदा परिवारले न्याय नपाएको गुनासो उहाँको रहेको छ । 

सोहि दिन खाराको पोखरी गाउँमा थप सात जनाको हत्या भयो । बुवाको हत्या हुँदा आमाको गर्भमा रहनुभएकी तारा खड्काले बुवा बिनाका २५ वर्ष अध्यारोमै बितेको बताउनुभयो । ‘बुवा मारिदा म आमाको पेटमा रहेको चार महिना पुगेको थियो रे,’ ताराले भन्नुभयो, ‘आमाका आँशु रोकिने र न्याय पाउने कहिले होला ?’

उक्त दिन पोखरी गाउँमा सात जना, कुरलमा सात जना र हाईबाङमा एक जना गरेर १५ जनाको हत्या भएको थियो । तत्कालिन खारा गाविस अध्यक्ष समेत रहनुभएकी नेपाली काँग्रेसको कर्णाली प्रदेश कमिटी सदस्य सीता ओलीले १५ जना सर्वसाधारणको हत्या भएको बताउनुभयो । काँग्रेसको वडा समिति अध्यक्ष त्रिभान ओली लगायतले ‘हामी माओवादी होईनौ, कांग्रेस हौं’ भन्दाभन्दै राज्यले उहाँसहित अन्य सर्वसाधारणलाई हत्या गरेको उहाँले जानकारी दिनुभयो । हत्यासँगै खारा गाउँ आगजनी गरिएको थियो । राज्यतर्फबाट भएको त्यो बर्बरता बिर्सनै नसकिने ओलीले जनाउनुभयो ।

माओवादी लुकेको भन्दै प्रहरीले सर्वसाधारणका घर, गोठ र घट्ट समेतमा आगो लगाएको थियो । करिब ८६ घरगोठ आगजनीबाट क्षती भएको ओलीले जानकारी दिनुभयो । त्यो बेला घरगोठ जलेर ध्वस्त भएको तर अझैसम्म राहत पाउन नसकेको पीडित बिरजित दमाईले बताउनुभयो । अब त राहतको आशा पनि मरिसकेको उहाँको भनाई छ । घरगोठ आगजनीबाट भएको क्षती अनुसारको राहत तथा क्षतिपुर्ति कसैले पनि पाएका छैनन् । तत्कालिन अवस्थामा केहिले सामान्य राहत मात्र पाएको बताउँछन् । अधिकांश पीडितहरु अझै राहतको पर्खाइमा छन् । 

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले निमुखा सर्वसाधारणले हारगुहार गर्दा पनि लाईन लगाएर हत्या गरिएको, गाउँघर नै जलाईएको घटनाका पीडितहरुले न्याय र उचित क्षतिपूर्ति पाउन नसकेको बताउनुभयो ।  पीडितहरुलाई राहत, क्षतिपूर्ति र न्याय दिलाउँन जिम्मेवार निकायबाट ढिलाई भईरहेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । द्वन्द्वको कारण साबिक रुकुमका ६६५ जनाको मृत्यु भएकोले र राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङकमा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज