नेभिगेशन
समाज

त्रिवेणीमा रुकुम पश्चिम र डोल्पाका सुरक्षा निकाय प्रमुखको बैठक सम्पन्न

सीमा नाकामा थप कडाई, यातायातका साधनमा छड्के जाँच

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६, र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५, स्थित त्रिवेणीमा आईतबार दुई जिल्लाका सुरक्षा निकाय प्रमुखहरु बिच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ । बैठकले  लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ ।  

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.ले दुई जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिचको बैठक लागुऔषध नियन्त्रणकै बिषयमा केन्द्रित भएको बताउनुभयो । बैठकले लागु औषधको उत्पादन, अवैध करोबार र ओसारपसारलाई नियन्त्रण गर्नुका साथै दुवै जिल्लाका सीमा नाकामा सुरक्षा जाँचलाई थप कडाई गर्ने निर्णय गरेको छ । 

प्रजिअ जी.सी.का अनुसार लागु औषध नियन्त्रणका लागि दुवै जिल्लाका सुरक्षा निकायले सूचना आदान प्रदान गरी समन्वयात्मक रुपमा परिचालन हुने सहमति समेत गरिएको छ । यसो भएका लागुऔषधको कारोबार रोक्न तथा कारोबारमा संलग्नलाई कानूनी दायरामा ल्याउन सकिने सुरक्षा अधिकारीहरुको निश्कर्ष रहेको छ । 

बैठकले त्रिवेणी क्षेत्रमा सुरक्षा व्यवस्थापन, वर्षायाम तथा सुख्खामा हुने पहिरो लगायतका समग्र विपद्को सिघ्र व्यवस्थापनको लागि अस्थायी प्रहरी पोष्ट राख्न पहल गर्ने निर्णय समेत गरेको छ । दुवै जिल्लाका सुरक्षा अधिकारी आएको बेला स्थानीयवासीहरुले समेत प्रहरी पोष्ट स्थापनाको माग गरेका थिए ।

स्थानीयको माग र आवश्यकताको आधारमा आवश्यक व्यवस्थापकीय प्रबन्ध हेरेर पोष्ट स्थापनाको लागि सम्बन्धित निकायमा लेखि पठाईने प्रजिअ जी.सी.ले उल्लेख गर्नुभयो । 

यातायातका साधनहरुको छड्के चेकजाँच

जिल्ला सीमानामा पुगेको सुरक्षा निकायको टोलीले त्यसक्षेत्रमा सञ्चालित विभिन्न यातायातका साधनहरुको छड्के चेकजाँच समेत गरेको छ । लागुऔषध ओसारपसारको सम्भावना, ट्राफिक नियमको पालना, सवारी साधन सञ्चालनका लागि आवश्यक कागजातहरुको उपयोग लगायतका बिषयलाई मध्यनजर गरेर छड्के जाँच गरिएको हो । यस क्षेत्रलाई लागुऔषध ओसारपसारको मुख्य नाकाको रुपमा लिईन्छ । 

प्रहरीले हरेक वर्ष यस क्षेत्रका विभिन्न स्थानमा गरिरहेको अवैध अफिम तथा गाँजा खेती ठुलो मात्रामा फडानी समेत गर्ने गरेको छ । रुकुम पश्चिम र डोल्पाका साथै जाजरकोट जिल्लाको समेत सीमास्थल रहेकोले यस क्षेत्रबाट लागुऔषध लगायतका अवैध कारोबारहरु बढी हुनसक्ने आँकलन सुरक्षा निकायको रहेको छ ।

यस क्षेत्रमा जिल्ला प्रशासन तथा प्रहरी कार्यालयले समेत लागुऔषध बिरुद्ध विद्यालयस्तरमा सचेतनाका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने गरेका छन् । 

बैठकमा डोल्पा जिल्लाका तर्फबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, संग्राम सार्दुल गुल्मका सेनानी पुष्करबहादुर चन्द, प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी, सशस्त्र प्रहरी नायक उपरिक्षक भुवन अर्याल, प्रमुख अनुसन्धान अधिकृत मेघराज कंडेलको उपस्थिति रहेको थियो । 

त्यसैगरी रुकुम पश्चिमका तर्फबाट प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी, सशस्त्र प्रहरी नायब उपरीक्षक मदन बहादुर धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा मगर, प्रहरी निरीक्षक गणेश खनाल, जिल्ला प्रशासन कार्यालयका खरिदार देव बहादुर ओली लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्