नेभिगेशन
राष्ट्रिय
विपदको उच्च जोखिम

ठुलीभेरीको कटानले रुकुमका तीन बस्ती उच्च जोखिममा, खेतीयोग्य जमिन बगरमा

स्थानीय भन्छन् - हरेक वर्ष घर र जग्गा बगाउँछ, सरकारले वास्ता गर्दैन

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६, का तीन बस्ती ठुलीभेरी नदीको कटानको कारण पहिरोको उच्च जोखिममा रहेका छन् भने खेतीयोग्य जमिन बगाएर बगर बनेको छ । वडाका ज्यामिरे, मन्का र दामाचौर बस्ती नदीको कटानले पहिरोको उच्च जोखिममा रहेका हुन् भने नदी छेउका खेतीयोग्य जमिन बगाएको हो ।  

वर्षाको समयमा आएको पहिरो ठुलीभेरी थुनिएपछि बस्तीतिर ढल्किएको नदीले कटान क्षेत्र बढाउँदै लिएपछि थप जोखिम बढ्दै गएको हो । वडा नम्वर ६ का वडा अध्यक्ष धनेश्वर शर्माका अनुसार रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सीमाना नजिकैका यी बस्तीहरु नदीको कटान र पहिरोको जोखिममा रहेका हुन् । 

वडा अध्यक्ष शर्माले जाजरकोटतर्फको फम्दा लेकबाट विभिन्न समयमा आएको पहिरोले गर्दा भेरी नदि थुनिएपछि नदीले धार परिवर्तन गरेर रुकुमपश्चिमका बस्तीतर्फ आउँदा गाउँ नै जोखिममा रहेको जनाउनुभयो । उहाँका अनुसार ज्यामिरे गाउँका २० घर पहिरोको उच्च जोखिममा रहेका छन् भने ३१ घर जोखिममा रहेका छन् ।

त्यसैगरी मन्काबगरमा रहेका ५५ घर र दामाचौरका करिब ५० घर पहिरोको जोखिममा छन् । दामाचौरमा रहेका करिब २५० घरधुरी मध्य ५० घर उच्च जोखिममा रहेका हुन् । नदीले धार परिवर्तन गर्दा ज्यामिरेगाउँतर्फको करिब छ सय मिटर चौडाई र दश मिटर लम्बाई भएको जमिनको भाग बगाएको उहाँले जानकारी दिनुभयो । 

ज्यामिरे गाउँका नन्दबहादुर बोहराले लगातारको कटानको कारण गाउँनै पहिरोसँगै नदीमा मिसिने उच्च जोखिम रहेको बताउनुभयो । उहाँका अनुसार २०५७ साल यता हरेक वर्ष पहिरोले केहि घर र खेतीयोग्य जमिन बगाउने गरेको छ ।

गत वर्ष मात्रै कालिका आधारभूत विद्यालयको भवनसहित १३ घर बगाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २०७६ सालमा पनि मन्काबगरका १२ घर पहिराले नदीमा मिसाएको थियो । क्षति भएका मध्य पाँच वटा घर सरकारले निर्माण गरिदिएको छ भने सात घर अलपत्र छन् ।  

jyamirkot-Gaun_Rukum_Raju-(3)-1740622535.jpgदामाचौरका नेत्रबहादुर शाहीले हरेक वर्ष नदीले खेतीयोग्य जमिन बगाउने गरेको बताउनुभयो । सल्लेतरा र त्रिवेणी क्षेत्रमा नदि छेउमा रहेका खेतीयोग्य जमिन बगाउँदा हरेक वर्ष स्थानीयले ठुलो नोक्सानी बेहोर्दै आएका छन् । शाहीले यहाँको करिब ४५ मिटर चौडाई भएको जमिन नदीले कटान गरेको जानकारी दिनुभयो । 

स्थानीयले बलियो तटबन्धनको माग गर्दै आएको तर सुनुवाई हुन नसकेको गुनासो गरेका छन् । वडा अध्यक्ष शर्माले भेरीकरिडोरको क्षेत्रमा पर्ने भएकोले कार्यालयमा तटबन्धनको माग गरिएको बताउनुभयो । नापजाँच समेत गरिसकेको हुनाले योजना निर्माण हुने आशा पलाएको उहाँले जनाउनुभयो ।

यसअघि नगरपालिका, जिल्ला प्रशासन, प्रदेश सरकार लगायतका विभिन्न निकायमा जोखिमपूर्ण बस्ती जोगाउन माग गर्दै निवेदन दिदापनि सुनुवाई हुन नसकेको स्थानीयको गुनासो रहेको छ । 

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.ले स्थानीयले तटबन्धनको माग गरेको जानकारी दिनुभयो । स्थलगत अध्ययनको क्रममा स्थानी बस्तीहरु उच्च जोखिममा रहेको र नदी कटानले खेतीयोग्य जमिन समेत बगाएको पाईएको उहाँले बताउनुभयो । क्षतिको आँकलन र स्थानीयको मागको आधारमा सम्बधित निकायमा तटबन्धन निर्माणका लागि पहल गरिने प्रजिअ जी.सी.ले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय