नेभिगेशन
राष्ट्रिय

विज्ञापनका नाममा हुने विकृति हटाएर पत्रकारिता क्षेत्रको विश्वास जोगाउनुपर्छ : अध्यक्ष हुमागाईं

रुकुम पश्चिम । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडिया क्षेत्रको विज्ञापनमा विकृति रहेकोले त्यसको नियन्त्रण आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बोर्डले ‘विज्ञापनको नियमन र लोक कल्याणकारी विज्ञापन’का बिषयमा गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हुमागाईंले विज्ञापनका नाममा हुने गरेको विकृति नियन्त्रण गरेर पत्रकारिता क्षेत्रप्रतिको विश्वास बढाउन जरुरत रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा उहाँले विज्ञापन आचारसंहिता समेत निर्माण गरेको जानकारी दिनुहुँदै मोफसलका मिडिया टिकाउन बोर्डले विभिन्न प्रयासहरु गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष हुमागाईंले राज्यका अन्य अंगहरु निश्क्रिय हुँदा पनि सञ्चार जगत सक्रिय रहनुपर्ने जनाउनुभयो ।

मिडिया सञ्चालनको मुख्य क्षेत्र विज्ञापन बजारमा ठुला मिडियाकै हालिमुहाली हुने अवस्था भएकोले जिल्लाका सञ्चार माध्यामहरु बन्द हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । बोर्डले देशभरका सबै स्थानीय तहको लागि स्थानीय तहको विज्ञापन नीति निर्माण गरिदिएर पठाएकोले त्यसलाई कार्यान्वयन गर्न जिल्लास्तरका सरोकारवालाहरु सक्रिय हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा अध्यक्ष हुमागाईंले बोर्डको सिमित जनशक्ति र स्रोतले देशभरका विज्ञापनको विकृति हेर्न नसक्ने भएकोले जिल्ला जिल्लाका सरोकारवाला निकायहरुको साथ आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । पत्रकारहरुले पनि विज्ञापनका क्षेत्रमा भईरहेका विकृतिको बारेमा कलम चलाउन आवश्यक रहेको उहाँको भनाई छ । विज्ञापनका विकृतिको बारेमा उजुरी गर्न समेत उहाँले आह्वान गर्नुभयो । लोककल्याणकारी विज्ञापनको लागि हरेक वर्ष सरकारले करिब ३० करोड रुपियाँ विभिन्न सञ्चार माध्यामहरुलाई दिदै आएको उहाँले जानकारी गराउनुभयो । 

कार्यक्रममा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.ले सरकारी निकायले स्थानीयस्तरका मिडियालाई प्राथमिकतामा राखेर विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि आफुले सहजिकरण गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । 

प्रजिअ जी.सी.ले राज्यका विभिन्न निकाय र मिडिया क्षेत्रको समन्वय र साथकै कारण मुलुकको समग्र हित हुने भएकोले एकअर्काको सारथी र भरोसा बन्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । 

कार्यक्रममा जिल्लाका संचारकर्मीहरुले जिल्लाको विज्ञापनको अवस्था, अनलाईन मिडियालाई लोककल्याणकारी विज्ञापनको उपलब्धता, विज्ञापनका क्षेत्रमा हुने गरेका विकृति र समाधानका लागि नियमित छलफलको आवश्यकताका बारेमा छलफल गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.को अध्यक्षतामा भएको कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्री, शाखा अधिकृतहरु बाबुराम पाण्डे, प्रकाशचन्द्र अधिकरी, गणेश बुढाथोकी, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, पत्रकारका विभिन्न संघ संगठनकाका प्रतिनिधिहरु र जिल्लास्थित क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।

महासंघका सचिव दिपेन्द्र महताराले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष देवकुमार ओलीको स्वागत मन्तव्य रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय