नेभिगेशन
खेल

आठबिसकोटमा ब्याडमिन्टन खेलाडीलाई सम्मान, नगरपालिकाले खेलाडीको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले ब्याडमिन्टन खेलाडीहरुलाई सम्मान गरेको छ । 

जिल्ला व्याडमिन्टन संघ रुकुम पश्चिमले हालै मुसिकोटमा सम्पन्न गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करणका विभिन्न विधामा भाग लिएर उत्कृष्ट स्थान हाँसिल गर्न सफल आठबिसकोट नगरपालिका भित्रका खेलाडीहरुलाई नगरपालिकाले सम्मान गरेको हो । 

सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख रबि केसीले लगायतले खादा, अबिर र सम्मानपत्रसहित खेलाडीहरुलाई सम्मान गर्नुभएको हो । ब्याडमिन्टन खेलाडीहरु नवराज मल्ल, मुस्कान केसी, डिला पुन र आशा केसीलाई सम्मान गरिएको हो । 

मुसिकोट नगरपालिका –१ स्थित कभर्डहलमा विभिन्न पाँच विधामा खुला ब्याडमिन्टन प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताको अल नेपाल खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा नवराज र मुस्कानको जोडी विजेता भएको थियो ।

त्यसैगरी नवराज र मुस्कानकै जोडी रुकुम पश्चिम खुला पुरुष डबल र कर्णाली प्रदेश पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेको थियो । 
प्रतियोगिताका खुला महिला डबल ब्याडमिन्टन प्रतियोगितामा डिला र आशाको जोडी विजेता बनेको थियो । 

कर्णालीमै पहिलो पटक रुकुम पश्चिममा फागुन १४ देखि १७ गतेसम्म विभिन्न पाँच विधामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको थियो । अल नेपाल खुला पुरुष डबल, कर्णाली प्रदेश पुरुष डबल, रुकुम पश्चिम खुला पुरुष डबल, रुकुम पश्चिम खुला महिला डबल र १९ वर्ष मुनिको पुरुष एकल गरेर पाँच विधामा प्रतियोगिता सञ्चालन भएको थियो । 

सम्मान कार्यक्रममा नगर प्रमुख केसीले नगरपालिका भित्रका राष्ट्रिय खेलाडीहरुको निशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गर्नुभएको छ । यसका साथै उहाँले सम्मान स्वरुप उत्कृष्ट स्थान ल्याउन सफल खेलाडीहरुलाई एक एक वटा ब्याडमिन्टन समेत उपलब्ध गराउनु भएको छ  ।

कार्यक्रममा नगर प्रमुख रबि केसीसहित वडा नम्वर १ का वडा अध्यक्ष देव बहादुर घर्ती, वडा नम्वर ३ का वडा अध्यक्ष केशरमान बिक, नगर खेलकुद विकास समिका अध्यक्ष सन्देश बिकले खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल