नेभिगेशन
समाज

चौरजहारी नगरपालिकामा ५७ जना सहिद परिवारलाई सम्मान 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सहिद परिवारहरूलाई सम्मान एवम् अभिनन्दन गरेको छ । 

नगर कार्यपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सशस्त्र युद्धका क्रममा सहिद भएका परिवारहरूलाई सम्मान एवम् अभिनन्नदन गरिएको हो । 

उक्त अवसरमा चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा बि.एम., नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ऋषिप्रसाद शर्मासहितका अतिथिहरूले सहिदहरूको फोटोमा माल्यार्पण गर्नु भएको थियो । तत्कालीन राज्य पक्ष र विद्रोही पक्षबाट चौरजहारी नगरपालिका क्षेत्र भित्रका ५७ जनाले सहादत प्राप्त गर्नुभएको थियो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार सहिद परिवारलाई दोसल्ला, सहिदको फोटोसहितको सम्मानपत्र, काँसको थालीसहित सम्मान गरिएको हो । सम्मान तथा अभिन्नदन कार्यक्रममा सहिद परिवारका समस्या, जिज्ञासा र सुझाव समेत सङ्कलन गरिएको छ । 

कार्यक्रममा बोल्ने वक्ताहरूले सहिदको महिमा उच्च रहेको भन्दै सहिदको नाम इतिहासमा स्वर्णिम अक्षरले लेखिएकोले उहाँहरू मरेर पनि बाँचिरहेको उल्लेख गर्नुभयो । सहिदहरूले गर्नुभएको नेतृत्व र मार्गदर्शन नै समाज रुपान्तरणको आधार भएकोले उहाँहरूको सोचलाई सदा हृदयगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मान कार्यक्रममा उपस्थित हुन नसक्नु भएका सहिद परिवारजनलाई नगरपालिका कार्यालयमा सम्पर्क नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज