नेभिगेशन
कला/संस्कृती/धर्म

बृहत चौरजहारी महोत्सव सुरु, भोली जय देवकोटाको प्रस्तुती रहने

बिहिबारबाट रुकुम पश्चिमको चौरजहारीमा बृहत चौरजहारी महोत्सव सुरु भएको छ । 

चौरजहारी नगरपालिका -२ स्थित रङ्गशालामामा सञ्चालित महोत्सवको एक कार्यक्रमका बिच चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले उद्घाटन गर्नुभएको छ । 

सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रको आयोजनामा भएको चौथो बृहत् चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आगामी चैत ४ गतेसम्म सञ्चालन हुने महोत्सव निर्देशक एलबि कटुवालले जानकारी दिनुभयो । 

कला, संस्कृति, कृषि, उद्योग व्यापार, चौरजहारी नगरपालिका समृद्धिको आधार भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।  

महोत्सव अवधिमा नायक तथा मोडल पल शाह, हास्य कलाकार धुर्मुस–सुन्तली, गायक बद्री पङ्गेनी, गायिका ज्योति मगर, गायक प्रकाश सपुत, गायिका एलिना चौहान, गायक कुलेन्द्र विश्वकर्मा, खेम सेन्चुरी लगायतका राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने बताईएको छ । 

महोत्सवमा १ सय बढी व्यापारिक स्टलहरू रहने र स्थानीय व्यापारीलाई २० प्रतिशतसम्म छुट दिइने बताइएको छ । महोत्सवमा डान्स आइडल समेत हुने आयोजकको भनाई छ । आईडलमा प्रथमले २० हजार, द्वितीयले १५ हजार, तेस्रोले १० हजार र सान्त्वनाले दुई जनाले ४/४ हजार पुरस्कार पाउने महोत्सव निर्देशक कटुवालले जानकारी दिनुभयो । 

महोत्सवको दोश्रो दिन भोली शुक्रबार गायक जय देवकोटा लगायतको प्रस्तुती रहने बताईएको छ । देवकोटाको साथमा कलाकारहरु अमृता केसी, पुजा विश्वकर्मा, प्रेम नगबाग लगायतका कलाकारको प्रस्तुती रहने आयोजकको भनाई छ । 

482073076_3879737662299840_7394696554528723189_n-1741267345.jpg
 

महोत्सव आयोजक समितिका संयोजक राजु जिआरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख वादीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर उपप्रमुख ईश्वरी शर्मा बि.एम., निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, जनप्रतिनिधिहरु, राजनीतिक दल लगायतका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी निकायका प्रमखु तथा प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गायक डिल्ली परियारले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्