नेभिगेशन
समाज

महोत्सवबाट फर्कदै गर्दा बाटो छेकेर आक्रमण, दुई जना गम्भिर घाईते

रुकुम पश्चिमको चौरजहारीमा जारी साँस्कृतिक महोत्सव हेरेर घर फर्कदै गरेका दुई युवामाथि आक्रमण भएको छ । 

मुसिकोट नगरपालिका –४ सोलाबाङ निवासी ३१ वर्षीय भक्त बहादुर सन्यासी र सोहि स्थानका २२ वर्षीय अर्जुन सुनार माथि चौरजहारी नगरपालिका –८ मा आक्रमण भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी नगरपालिका -२ मा जारी महोत्सव हेर्न शनिबार आएका सन्यासी र सुनारको महोत्सव स्थानमा सवारी साधन व्यवस्थापनमा खटिएका युवाहरु बिचमा मोटरसाईकलको हेलमेटको बिषयमा विवाद भएको थियो । 

त्यसपछि महोत्सव स्थलबाट रा ४ प २३८ नम्वरको मोटरसाईकलमा बाहिरिएका सन्यासी र सुनारलाई पिछा गरेर वडा नम्वर ८ स्थित गोईरीज्यूला पुलदेखि माथिको मोडमा बाटो छेकेर आक्रमण भएको प्रहरीको भनाई छ ।  

आक्रमणबाट गम्भिर घाईते भएका दुई युवाहरुलाई स्थानीयले उद्धार गरेर चौरजहारी अस्पताल पुर्याएका थिए । अस्पतालले थप उपचारका नेपालगञ्ज रिफर गरेको थियो । नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि घाईते सन्यासीलाई आज भारतको लखनउ रिफर गरिएको छ । 

प्रहरीका अनुसार सन्यासीको खुट्टा भाँचिनुका साथै शरिरका विभिन्न भागमा चोट लागेको छ भने सुनारको मुख र टाउकोमा चोट रहेको छ । सुनारको अवस्था भने अहिले सामान्य रहेको छ । 

प्रहरीले आक्रमणमा संलग्नको पहिचान भईसकेको र अनुसन्धान भईरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज