नेभिगेशन
समाज

आगलागीमा परेर बालकको मृत्यु, बुवाआमा घाइते

जाजरकोटको कुशे गाउँपालिका ८ को एक घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने उनका बुवाआमा घाईते भएका छन् ।

स्थानीय जनक बहादुर रोकायको घरमा गएराति करिब १० बजे तिर आगलागी हुँदा उहाँका १२ वर्षीय छोरा अमर बहादुर रोकायको मृत्यु भएको हो। आगलागीबाट घरमुली जनक बहादुर रोकाया र उहाँकी श्रीमती बिजुली रोकाया घाइते हुनु भएको छ ।

स्थानीयका अनुसार खाना पकाउने चुलोबाट आगो सल्किएर पूरै घर जलेर नष्ट भएको छ। सात जनाको परिवारमध्ये अन्य सदस्यहरू भागेर ज्यान जोगाउन सफल भएका छन्। पशुचौपाया तल्लो तलामा रहेका कारण स्थानीयले समयमै उद्धार गरी बचाएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार घर पूर्ण रूपमा जलेर नष्ट भएपछि लत्ताकपडा भाँडाकुँडा, अन्नपात नगदसहित गरगहना जलेर नष्ट भएका छन् । आज बिहान सवा ४ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज