नेभिगेशन
समाज

चौरजहारीबाट भूकम्पपछिको पुनर्निर्माण सुरु, दुई परिवारलाई पहिलो किस्ताको रकम प्रदान

२०८० साल कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको निजी आवास पुनर्निर्माणको काम सुरु भएको छ। 

भूकम्पको कारण क्षतिग्रस्त भएका निजी आवासमध्ये विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भएको चौरजहारी नगरपालिका वडा नम्वर २ बाट निजी आवास पुनर्निर्माणको कार्य सुरु भएको हो। 

वडा नम्वर २ का भूकम्प प्रभावित विष्णु प्रसाद गौतम र शसिला रावतसॅग अनुदान सम्झौता गरिएको वडा अध्यक्ष विर बहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै प्रभावितलाई आवास निर्माणको पहिलो किस्ताको रकम रकम उपलब्ध गराईएको छ । उहाँहरुको खातामा ५०/५० हजार रुपियाँ भुक्तानी गरिएको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार गत चैत्र ५ गते प्राधिकरणले विस्तृत क्षति आँकलन भई विपद् सूचना प्रणालीमा अपलोड भएका घर परिवारमध्ये प्राधिकरणको प्राविधिक टोलीले विवरण रुजु गरेको थियो । उक्त विवरण चौरजहारी नगरपालिकामा पुनर्निर्माणका लागि लाभग्राही पहिचान र कायम गर्ने प्रयोजनार्थ पठाएको थियो ।

सोहि विवरण मध्येबाट चौरजहारी नगरपालिका विपद् व्यवस्थापन समितिको निर्णयबाट सिफारिस भए अनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिको सोही निर्णयानुसार लाभग्राही कायम भएका १० घरपरिवारमध्ये बुधबार चौरजहारी नगरपालिका वडा नम्वर २ स्थित विष्णु प्रसाद गौतम र शसिला रावतसॅग सम्बन्धित वडामा अनुदान सम्झौता भएपछि नगरपालिकाले लाभग्राहीको खातामा पहिलो किस्ताको रकम भुक्तानी गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

विस्तृत क्षति आँकलन सकिएका बाँकी वडाहरूमा पनि लाभग्राही पहिचान र स्वीकृतिको कामलाई उच्च प्राथमिकतामा राखी पुनर्निर्माणको कार्यलाई तीव्रता दिइएको उहाँले जनाउनुभयो ।  भूकम्पका कारण  चौरजहारी नगरपालिकामा मात्र सात हजार ४ सय घरमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज