नेभिगेशन
घटना/दुर्घटना

रुकुममा ट्रकभित्रै मार्वलले च्यापिएर एक मजदुरको मृत्यु, एक घाईते

रुकुम पश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।   

शुक्रबार दिउँसो चौरजहारी नगरपालिका –१ मा लु. प्र. ०३–००१ क ००२७ नम्वरको मिनि ट्रकले बोकेको मार्वल र सिमेन्टले च्यापिएर ट्रकमै बसेका दुई कामदार मध्य एक कामदारको मृत्यु भएको हो भने एकजना घाईते भएका छन् ।   

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मृत्यु हुनेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका –१ का २४ वर्षीय देवचन्द्र सार्की रहेका छन् । सोहि नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की भने घाईते रहेको उहाँले बताउनुभयो ।  

घटना लगत्तै दुवै जनालाई उपचारको लागि चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले देवचन्द्रलाई मृत घोषणा गरेको र घाईते मनविरको उपचार भईरहेको बताईएको छ । मनविरको हातमा चोट लागेको छ । 

दुबै मजदुरहरु ट्रकसँगै नेपालगञ्जतर्फबाट आएको बताईएको छ । उनीहरु एन स्काई कम्पनीमा लेवरको रुपमा कार्यरत रहेको बुझिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त ट्रकको पछाडिको भागमा मार्वलसँगै दुई कामदारहरु चढेका थिए । मार्वल ट्रकको वरिपरीको भागमा बाँधेर ल्याईएको र मोडमा मार्वल बाँधेको डोरी चुडिएपछि बिचमा बसेका दुई मजदुर च्यापिएका थिए । 

घटनापछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने सुर्खेतको गुर्भाकोट नगरपालिका ११ निवासी चालक विकास सुनार फरार रहेका छन् । चालकको खोजी भईरहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्