नेभिगेशन
समाज

मानसिक स्वास्थ्यका लागि बस्तीस्तरमा सचेतना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० को बस्तीस्तरमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

सर्वसाधारणमा मानसिक स्वास्थ्य समस्या बढेपछि वडा कार्यालयले समन्वयमा सिएमसी नेपालले दुई दिनसम्म बस्तीस्तरमा अभिमुखिकरण सञ्चालन गरेको हो ।

वडा अध्यक्ष धनबहादुर खड्काका अनुसार मानसिक स्वास्थ्य समस्याकै कारण केहि वर्ष यता वडा नम्वर १० मा मात्रै पाँच जनाले आत्महत्या गरेका छन् । मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण बन्दै गएपछि सचेतना फैलाउन बस्तीस्तरमा अभिमुखिकरण सञ्चालन गरिएको हो । सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि वडा कार्यालयले सिएमसी नेपालसँग समन्वय गरेको थियो । 

पाँच वटा टोलमा विभाजित यस वडामा दुई दिनसम्म अभिमुखिकरण गरिएको थियो । खड्का टोल र नमूना बस्ती टोलका सर्वसाधारणहरुलाई लक्षित गरेर वडा कार्यालयमा, कामीबुढा खर्सुपानी टोलको डेलडाँडामा र गलमपाटी टोलको लागि गलमपाटीमै अभिमुखिकरण सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । 

वडा अध्यक्ष खड्काका अनुसार दुई दिनसम्म सञ्चालित अभिमुखिकरणमा १०१ जनाको सहभागिता रहेको थियो भने १५ जना मानसिक स्वास्थ्य समस्या भएका बिरामी फेला परेका छन् । यस अघि स्वास्थ्य केन्द्रको सम्पर्कमा नरहेका १३ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले दाङ, नेपालगञ्ज र काठमाडौंमा गएर औषधि खाने गरेको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । 

मानसिक स्वास्थ्य समस्या देखिएका व्यक्तिले लाजको कारण समस्या लुकाउने गरेकोले बढेर ठुलो समस्या आउने गरेको छ । मानसिक स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई बेलैमा उपचार तथा परामर्शमार्फत समस्या समाधान गर्न सकिने वडा अध्यक्ष खड्काले उल्लेख गर्नुभयो । जीवन अमुल्य रहेकोले सचेत बन्न आवश्यक रहेको उहाँको भनाई छ ।  

अभिमुखिकरणको सहजिकरण सिएमसी नेपालका मनोसामाजिक अधिकृत डिलबहादुर शाही, मनोसामाजिक कार्यकर्ता सर्वजित खड्का लगायतले गर्नुभएको थियो ।

वडा कार्यालयको अनुरोधलाई स्वीकार गरेर सिएमसी नेपालले बस्तीस्तरमा सचेतनामूलक अभिमुखिकरण गरेको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा वडा सदस्य बुद्धि प्रसाद रोकाया, स्वास्थ्य सेवा केन्द्र प्रमुख मिना खड्का लगायतकोे उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज