नेभिगेशन
समाज
एसइई

एसइईमा चिट : गहुँबारीमा राउडर, हात हातमा मोबाईल

चिट चोर्न म्यासेन्जर र ह्वाटसपको प्रयोग, बजारमा उत्तर पुस्तिका फोटोकपी 

सूचना प्रविधिको विकाससँगै अधिकांसको पहुँचमा पुगेको ईन्टरनेट सेवा परीक्षामा चिट चोर्ने मुख्य माध्याम बनेको पाईएको छ । गत चैत ७ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमका अधिकांस परीक्षा केन्द्रका परीक्षार्थीबाट चिट चोर्न प्रयोग भएको मोबाईल जफत गरिएपछि उक्त तथ्य खुलेको हो । 

परीक्षा केन्द्रको प्रवेशद्वार, कक्षाकोठामा केन्द्राध्यक्ष तथा परीक्षा निरीक्षक र जिल्लाबाट परिचालन भएको अनुगमन समितिले ठुलो मात्रामा विद्यार्थीहरुबाट मोबाईल सेट जफत गरेको जनाएको छ । जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले अनुगमनका क्रममा मोबाईलको प्रयोग हुने गरेको, बजारमा चिटहरु फोटोकपी गरेर समेत परीक्षा हलमा पठाउने गरेको पाईएको जानकारी दिनुभयो ।

अनुगमन टोलीले शीतल मावि चौरजहारीबाट ७० वटा र हिमालय मावि खोलागाउँबाट ३७ वटा मोबाईल एकैदिन जफत गरेको थियो । यसैगरी आठबिसकोटमा रहेको बालकल्याण माविबाट ३१, विरेन्द्र मावि बाँफिकोटबाट २१, सिद्धार्थ मावि मग्माबाट चार वटा र बालकल्याण मावि सोलाबाङबाट २० वटा मोबाईल जिल्लाबाट गएको अनुगमन टोलीले मात्रै जफत गरेको जनाएको छ । 

यसबाहेक केन्द्राध्यक्ष र परीक्षा निरीक्षकको टोलीले प्रवेशद्वार, परीक्षाहलबाट विभिन्न मितिमा मोबाईल खोसेको बताईन्छ । शीतल माविका केन्द्राध्यक्ष यदु रानाले पहिलो दिन गेटमै ६० वटा र अर्को दिन ३० वटा मोबाईल निकालेको जानकारी दिनुभयो । जिल्लाबाट अनुगमन टोली आएपछिको दिनमा समेत १४ वटा मोबाईल जफत गरिएको उहाँले जनाउनुभयो ।

आठबिसकोटको बालकल्याण माविबाट केन्द्राध्यक्षको टोलीले विभिन्न दिनमा गरेर १५० वटा मोबाईल खोसेर परीक्षापछि फिर्ता गरेको बताईएको छ । 

हिमालय मावि खोलागाउँका केन्द्राध्यक्ष भिमबहादुर ओलीले अनुगमन समितिले जफत गरेका बाहेक ४३ वटा मोबाईल प्रवेशद्वारमै निकालेको बताउनुभयो । ओलीका अनुसार विद्यार्थीहरुले मोबाईलमा ईन्टरनेटको पहुँच जोडेर चिट चोर्न प्रयोग गर्ने गरेको तर बेलैमा थाहा पाएर रोकिएको छ ।

विद्यालयको छेउमा रहेको गहुँबारीमा ईन्टरनेटको राउडर लुकाएर राखेको  अवस्थामा फेला पारेर आफूले निकालेको केन्द्राध्यक्ष ओलीले जनाउनुभयो । परीक्षामा प्रविधिको दुरुपयोग गर्न खोजेको उहाँको भनाई छ । 

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनले पछिल्लो पुस्ताले परीक्षामा समेत प्रविधिको गलत प्रयोग गरेको बताउनुभयो । जिल्लामा रहेका १५ वटै परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमन गरिएको र परीक्षाकेन्द्रबाट करिब पाँच सय मोबाईल अनुगमन टोली र केन्द्राध्यक्षले निकालेको उहाँले जनाउनुभयो ।

मोबाईलमा डाटाको प्रयोग, डाटाको पहुँच नभएको ठाउँमा वाईफाईको लागि राउडर समेत राख्ने गरेको पाईएको उहाँले बताउनुभयो । ईन्टरनेटको प्रयोगमार्फत मोबाईलमा म्यासेन्जर र ह्वाटसफ लगायतबाट एपबाट चिट चोर्न कोशिस गरेको इकाई प्रमुख पुनले जानकारी दिनुभयो ।

विभिन्न परीक्षा केन्द्रबाट अनुगमन टोलीबाट जफत गरिएका मोबाईलहरु मुचुल्कासहित जिल्ला ल्याईएको प्रहरी नायक उपरीक्षक प्रमेश बिष्टले जनाउनुभयो । उहाँका अनुसार सबै परीक्षा सकिएपछि परीक्षार्थीहरुलाई सचेत बनाउँदै कागज बनाएर फिर्ता गरिने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्