नेभिगेशन
समाज

आठबिसकोटको नापी कार्यालयको डिजिटल बोर्डमा 'आई लभ यू प्रमिला ...'

रुकुम पश्चिमको एक सरकारी कार्यालयको डिजिटल बोर्डमा ‘i love u pramila, i really love you’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । 

जिल्लाको आठबिसकोटस्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएर यस्तो लेखिएको बताईएको छ । 

कार्यालयका प्रमुख मान बहादुर आग्रीले कार्यालयको डिजिटल बोर्ड ह्याक भएर नै असान्दर्भिक कुराहरु डिस्प्ले भएको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा उक्त फोटो भाईरल भएको बिषयमा उहाँले भन्नुभयो, “म केहि दिन यता आफन्त बिताउनु भएकोले शोकमा छु, कार्यालयको डिजिटल बोर्डमा अनावश्यक कुराहरु प्रशारण भएको जानकारी पाए । कसरी भयो, सुनेर अचम्मित भएको छु ।” 

उहाँले डिजिटल बोर्ड ह्याक भएर नै यस्तो हुन गएको बताउनुभयो । नापी कार्यालय आठबिसकोटमा पर्मिला नामको कोहि पनि कर्मचारी नभएको तर उक्त नाम अंकित गरेर डिस्प्ले भएको उहाँको भनाई छ । 

यस अघि पनि आठबिसकोटकै एक क्याम्पसको डिजिटल बोर्ड समेत ह्याक भएको उहाँले जानकारी दिनुभयो ।  कार्यालयको तर्फबाट नभई ह्याकरको कब्जाबाट त्यसो भएकोले त्यसैअनुसार बुझिदिन उहाँले आग्रह गर्नुभयो । अहिले उक्त डिस्प्ले बन्द गरिएको उहाँको भनाई छ । 

यस बिषयमा आठबिसकोट नगरपालिकाका सूचना अधिकारी ईन्द्रबहादुर बिष्टले समेत ह्याक भएको हुनसक्ने उल्लेख गर्नुभयो । यस बिषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराईएको र उक्त सिस्टमसँग सम्बन्धित निकायसँग सोधपुछ गरिने उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्