नेभिगेशन
समाज

भूकम्पले रुकुम पश्चिमका तीन जना घाईते, घरहरु थप जोखिमपूर्ण

शुक्रबार बेलुका जाजरकोटको पैंक केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रुकुम पश्चिमका तीन जना घाईते भएका छन् । भूकम्पको डरले भाग्ने क्रममा तीन जना घाईते भएका हुन् । 

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार भूकम्पको कारण त्रिवेणी गाउँपालिका –८ पेउघाका १६ वर्षीय खम्बु बिक, बाँफिकोट गाउँपालिका –८ झुला निवासी १६ वर्षिया हिमाली देवकोटा र सानीभेरी गाउँपालिका –३ बेलटापु निवासी सीता पुन घाईते हुनुभएको हो ।

भूकम्पको डरले भाग्ने क्रममा घाईते भएपछि त्रिवेणीका बिक र बाँफिकोटकी देवकोटालाई जिल्ला अस्पताल सल्लेमा भर्नामा गरिएको छ । पुनको भने घरमै उपचार भईरहेको बताईएको छ । 

जिल्ला अस्पतालका प्रमुख डा. महेश चौलागाँईका अनुसार बिकको बाँया खुट्टा भाँचिएको छ भने देवकोटाको ढाडमा चोट रहेको छ । उहाँलाई बेहोस भएको भन्दै आफन्तले राती नै अस्पताल ल्याएका थिए । बिकको खुट्टाको अप्रेशन गरिने छ भने देवकोटाको अवस्था सामान्य बन्दै गएको छ । 

यसैगरी भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा घरहरू चर्किएका छन् भने केहि घर भत्किएका छन् । आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले मानविय क्षति नभएको तर घरहरुमा क्षति भएको जानकारी दिनुभयो ।

२०८० कात्तिक १७ गतेको भूकम्पले सामान्य चर्किएका घरहरु जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो । ती घरहरु बस्न लायक नभएको र रातभर सर्वसाधारणहरु डरले जाग्राम रहेको नगर प्रमुख केसीले उल्लेख गर्नुभयो । 

जाजरकोट कुसे गाउँपालिकाको पैंक केन्द्रबिन्दु भएर शुक्रवार राती ८ बजेर ७ मिनेट जाँदा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो । २०८० कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो मानविय र भौतिक क्षति गरेको थियो । 

जिल्ला अस्पताल सल्लेमा उपचाररत घाईते 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्