नेभिगेशन
कला/साहित्य

कविता : पश्चातापको चित्कार

पश्चातापको चित्कार

एकछिन फर्किन पाए हुन्थ्यो 
यी आँशु खसाईरहेका चेहराहरुको  
आँशु पुछिदिन मन लाग्यो 
म त शान्ति खोज्दै मृत्युमा रमाउन निक्लेको थिए
तर यतिबेला मेरो लासलाई 
अशान्तिको गुञ्जनले घेरी रहेछ 
मेरो वरिपरिको भीड भन्दै छ “यो निर्णय गलत थियो !”

जीवन एकदिन माटोमै फर्किन्छ, 
तर मैले माटो हुन हतार गरिदिए 
मेरो धड्कन रोकिएको छ यतिबेला
म मौन छु, 
तर यो भिड र भिडका करुण अनुहारहरु देखेर
भित्रभित्रै चिच्याईरहेछु,
मेरो मौनताभित्रको यो चिच्याहट कसले सुन्छ ?
खरानी भएर माटोमा मिल्नु अगाडी 
यतिबेला म आफैलाई प्रश्न गरिरहेछु
आत्मको बोध गर्दै नगरी निभेको मैले
आत्महत्या गरे भन्न सुहाउछ सुहाउदैन ।

मैले बुझ्न सकिन, कुनै पनि पीडा स्थायी हुँदैन भनेर
मैले बुझ्न सकिन, हरेक समस्याहरुको समाधान हुन्छ भनेर
मेरो निर्णय काँचको गिलास जस्तै थियो
जुन फुटेपछि जोड्नै सकिएन 
पासोको डोरीमा झुन्डिएका मेरा सपनाहरु
अहिले भुइँमा पछारिएर झन रगताम्य भएका छन्
मैले मेरो एउटै निर्णयले
सम्पूर्ण सम्भावनाहरूमा पुर्ण बिराम लगाईदिए
मैले मेरो समस्याहरुको एउटै समाधान आत्महत्या देखे ।

सोचेको थिएँ,
मेरो अन्त्यपछी मेरा सारा पीडाहरुको अन्त्य हुनेछ
लागेका चोटहरु सबैले शान्ती पाउनेछन् 
हतारमा लिएको निर्णय
एक पलको आवेगले
अन्धकारको काखमा सुताईदिए जीवन 
तर यतिबेला
त्यही फुस्किएको सासको याद आइरहेछ
पछाडिबाट आमाले रुदैँ बोलाईरहेकीछिन्
आमाको स्वर मरुभूमिमा बिलाएको पानी झैं दबेको छ ।

बुबाका आँखामा महासागरको जस्तो विशाल शून्यता छ 
साथीहरूले किन के का लागी जस्ता प्रश्नहरु सोधिरहेछन्,
चाहेर पनि म यतिबेला
कुनैखाले जवाफ दिन सक्ने बाटोमा छैन
तर यतिेबेलै कतै 
मेरो अदृश्य स्वर पश्चात्तापमा घन्किरहेको छ 
भनिरहेछ (
“जिन्दगी त जसो तसो जिउनै पर्ने रहेछ 
हार्दा हार्दै हारबाट भाग्न खोजेको, मैले फेरी पनि हारे ।ू

अब व्यर्थ छ
मुल सुकेपछी भेलसँग बग्ने चाह राखेर 
अब व्यर्थ छ
ओझेल परेपछी, उज्यालोको सपना देखेर 
मैले बाटो बिराईसकेको छु ।
मेरो लागी माफीको ढोका खुल्न सक्दैन 
तर बाँचेकाहरुलाई भन्न मन छ 
मर्नु कायरता हो, बाँच्नुमा हिम्मत हुन्छ ।
कसैले नरोज्नु अब मैले रोजेको जस्तो यो बाटो,
आज यो बाटोमा म एक्लो भएको छु, 
अब फेरि फेरी कोही म जस्तो एक्लो नहोस् ।
"जीवन कठिन छ, तर आत्महत्या समाधान होइन ।"

- जि.एम. दिपु देपेन्द्र
चौरजहारी नगरपालिका ११, रुकुम पश्चिम । 
(यो कविता रुकुम पश्चिममा हालै सम्पन्न 'सिर्जना उत्सव' कार्यक्रममा प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्