नेभिगेशन
अर्थ/वाणिज्य

तीन महिनापछि सल्लेमा नेपाल वायु सेवा निगमको उडान

सल्लेमा यात्रुको चाप, चौरजहारीको विमानस्थल दश वर्षदेखि बन्द

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ स्थित सल्ले विमानस्थलमा तीन महिनापछि नेपाल वायु सेवा निगमको उडान सुचारु भएको छ । गत पुस ३ गतेबाट बन्द भएको उडान शुक्रबारबाट नियमित भएको हो । 

नेपाल वायु सेवा निगम रुकुम शाखाका प्रमुख प्रेम ओलीका अनुसार तीन महिनापछि सल्ले विमानस्थलमा वायु सेवा निगमको उडान सुरु भएको हो । ओलीले पुसको पहिलो साता निगमको जहाजमा आएको खराबीको कारण उडान बन्द रहेको जनाउनुभयो ।

जहाज मर्मत तथा आवश्यक व्यवस्थापनपछि चैत २६ गते निगमको उडान तालिका तय भएको थियो । मौसम खराबीका कारण रद्ध भएको उडान शुक्रबार भएको छ । अब भने नियमित उडान हुने कार्यालय प्रमुख ओलीले जानकारी दिनुभयो ।  

अबदेखि हप्तामा दुई दिन नेपाल वायुसेवाको उडान तालिका कायम गरिएको छ । उहाँका अनुसार आईतबार काठमाडौंबाट रुकुम हुँदै नेपालगञ्ज र मङगलबार नेपालगञ्जबाट रुकुमहुँदै काठमाडौं उडान हुनेछ । नेपाल वायु सेवा निगमले रुकुम आउने तथा जाने टिकट अनलाईन सेवासँगै निगमको केन्द्रिय, क्षेत्रिय र जिल्लास्थित कार्यालयबाट लिन सकिने जनाएको छ । 

हप्तादिन अघि नै टिकट बिक्रि

IMG-20250411-WA0010-1744363376.jpgसल्ले विमानस्थलमा नियमित उडान हुन थालेसँगै यात्रुको चाप बढेको कार्यालय प्रमुख ओलीले जानकारी दिनुभयो । उहाँले उडान भएको दिनमै अर्को हप्ता हुने उडानको टिकट बिक्रि भईसक्ने बताउनुभयो ।

बिरामी र सरकारी सिट बाँकि राखेर अन्य कोटाका टिकट पहिला नै बिक्रि हुने उहाँले उल्लेख गर्नुभयो । उडान संख्या बढाउन आवश्यक रहेको उहाँको भनाई छ । यस विमानस्थलमा उडान अवरुद्ध भएपछि केहि समय तारा एयरको जहाजले उडान भरेको थियो । 

रुकुम पश्चिमकै चौरजहारीमा रहेको अर्को विमानस्थल भने करिब दश वर्ष यता बन्द अवस्थामा रहेको छ । २०७२ सालको भदौमा धावनमार्ग कालोपत्रेको काम सुरु भएपछि अनियमित भएको चौरजहारी विमानस्थल अहिले ठप्प रहेको छ । स्थानीयले विमानस्थल सुचारु गर्नुपर्ने माग गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्