नेभिगेशन
समाज

रुकुम पश्चिममा धमाधम योजना छनोट

कर्णाली प्रदेश सरकारले अघि सारेको योजना बैंकको लागि रुकुम पश्चिममा धमाधम योजना छनोट गर्न थालिएको छ । जिल्लाबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुसहित जिल्लाका जनप्रतिनिधिहरुले योजना छनोटलाई तीब्रता दिएका हुन् । 

कर्णाली प्रदेश सरकारको आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धि कार्यविधि, २०८१ बमोजिम जिल्लास्तरिय आयोजना प्रस्ताव छनोट सिफारिस समितिको बैठक बसेर योजना प्रस्ताव गर्ने निर्णय भएको छ ।

बैठकबाट आगामी आर्थिक वर्षको लागि आवश्यक पर्ने बजेट तथा आयोजना सिफारिस गरी प्रदेश सरकारलाई पठाउने निर्णय भएको प्रदेशसभा सदस्य तुलसा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विषयगत कार्यालयहरुसँग छुट्टाछुट्टै बैठक गरेर योजना सिफारिस गरिएको हो । 

पहिलो बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विषयगत कार्यालयहरु डिभिजन वन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र डिभिजन जलाधार व्यवस्थापन कार्यालयको योजना छनौट छ । डिभिजनल वन अधिकृत शेरबहादुर परियारका अनुसार डिभिजन वन कार्यालय तर्फका २०६ वटा योजनाहरु सिफारिस गर्ने निर्णय भएको छ ।

उहाँले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि यी योजनाहरु प्रस्ताव गरेर पठाउने निर्णय भएको जनाउनुभयो । उहाँका अनुसार पूर्वाधार सम्बन्धी १६९ वटा र नियमित कार्यक्रम अन्तर्गत ३७ वटा योजना छनौट गरिएको छ । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओलीका अनुसार योजना सिफारिसको लागि बैठकबाट ६९ योजना प्रस्तावका लागि सिफारिस गर्ने निर्णय भएको छ । त्यसैगरी डिभिजन जलाधार व्यवस्थापन कार्यालयका अन्तर्गत जलाधार संरक्षणतर्फ १०९ वटा योजना प्रस्ताव गरेर सिफारिस गरिएको छ । 

त्यसैगरी भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयका योजना छनोट गरेर पठाउने निर्णय भएको छ । कृषि तर्फ १३०, साना सिंचाईतर्फ १०२ र पशु सेवातर्फका ९० वटा योजना प्रस्तावका लागि छनौट गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्माले जानकारी दिनुभयो ।  

यसैगरी शनिबार बसेको समितिको बैठकले खानेपानी, सिंचाई तथा उर्जातर्फका योजनाहरु प्रस्तावका लागि छनौट गरेको छ । यसतर्फ ७७६ योजना प्रस्ताव गरिएको छ । अन्य विषयत कार्यालयका योजनाहरु क्रमिक रुपमा छनोट गरिने बताईएको छ । 

बैठकमा कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेशसभाका सदस्य राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभा सदस्यहरु महेन्द्र केसी, कल्याणी खड्का, मिलन खड्का, तुलसा मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, उपप्रमुख देवबहादुर विक, छ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष लगायत सम्बन्धित कार्यालयका प्रमखुहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्