मिति लेख्ने तरिका र परम्पराहरू आ-आफ्नै छन् । यो सांस्कृतिक विविधताको उपज पनि हो । सांस्कृतिक विविधता भएका देशहरूमा अनेकौं संवत् प्रचलनमा हुनसक्ने देखिन्छ । नेपालमा आठवटा संवतका नयाँ वर्ष मनाइने गरेको छ ।
विक्रम संवतको पहिलो उल्लेख नेपाल संवत् ३३६ (वि.सं.१२७३) मा प्रथम मल्ल राजा अरिमल्लले प्रचलनमा ल्याएको उल्लेख छ । भारतका विक्रमादित्य नामका कुनै राजाका नाममा यो सम्वत् ल्याएको भन्ने छ । अन्तराष्ट्रिय रुपमा सबैभन्दा बढी प्रयोग हुने सम्वत् भने इस्वी सम्वत् हो । नेपालको हिमाली क्षेत्रमा ल्होसार र लोहोसार मनाउँछन् । जसलाई मञ्जुश्री सम्वत् पनि भन्छन् । यो चिनियाँहरूको नयाँ वर्ष अर्थात् उत्सव हो ।
त्यसैगरी नेपाल सम्वतले पनि राष्ट्रिय सम्वतको मान्यता पाएको छ । मुश्लिम समुदायले हिजरी सम्वत् मनाउँछन् । नेपालमा बौद्ध धर्म र बुद्ध सम्वत् पनि प्रचलनमा रहेको पाइन्छ । किराँत जाति र समुदायमा प्रचलनमा रहेको किरात येलेसम्वत् पनि रहेको छ । लिच्छविकालमा विभिन्न सम्वत् चलेका थिए । नेपालमा चलेको पहिलो सम्वत् शक संवत हो ।
नयाँ वर्ष २०८१ बिदा भएको छ । दिनहरू आउलान तर वर्तमानमा २०८१ अब कहिल्यै फर्केर आउने छैन । नयाँ वर्ष २०८२ को हर्पोउल्लासपूर्वक आगमन भएको छ । उत्साह, उमङ्ग र नयाँपनको आभासको माहोल बनेको छ । नयाँ वर्षको अवसरमा हर्ष भावका साथ शुभकामनाहरू आदानप्रदान भएका छन् ।
प्रविधिको विकाससँगै शुभकामना आदानप्रदान गर्ने तौरतरिका र शैली बदलिएको छ । कुनै समय यस्तो थियो नयाँ वर्षको विशेष गरी ग्रामीण क्षेत्रमा कुनै गुन्जायस नै हुदैन्थ्यो । कागजको पानामा नव वर्षको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना लेखेर वरन्डामा धागोले झुन्डाएको याद आएको छ । विभिन्न रङ्गको प्रयोग गरेर अक्षरहरूलाई रङ्गीविरङ्गी बनाएको मानसपटलमा ताजा छ ।
केही समयपछि शुभकामना कार्ड वितरण गर्ने प्रचलन बढ्यो । मोबाइलको प्रयोगसँगै मेसेजमार्फत् शुभकामना सन्देश सम्प्रेषण गर्न थालियो । प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालमार्फत् शुभकामना आदानप्रदान सहज र तिव्र बनेको छ । चिने नचिने जति सबैका लागि शुभकामना बाँडन पाइएको छ । मौलिक रचना र सिर्जनशीलता हराएको छ । कपि पेस्टका शुभकामनाहरूको ओइरो लाग्न थालेको छ ।
शुभकामना सबैका लागि तर कसैका लागि पनि नभएको जस्तो आभास हुन थालेको छ । शुभकामना कतै फगत आदर्श त बन्दै छैन रु सोचनीय बन्न थालेको छ ।
देखावटी र बनावटी शुभकामनाहरू जो अन्तरमनबाट प्रेषित छैनन् ती बिना प्राणका शरीर जस्तै हुन् । जेहोस् गाउँ सहर सबैतिर विशेष पर्व र उत्सवको रुपमा नयाँ वर्षले उत्साह र उमङ्ग थप्दै गएको छ ।
दिनहरू आउँछन् अनि जान्छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । नयाँ वर्षलाई कुन रुपमा बुझ्ने भन्ने सवाल नै महत्त्वपूर्ण हुन्छ । नयाँ वर्ष अर्थात् वैशाख १ गते हिजो अस्तिको जस्तै एउटा दिन न हो । वर्ष फेरिदैमा हाम्रा प्रवृत्ति र चिन्तनहरू फेरिन्छन् वा फेरिदैनन् त्यो महत्त्वपूर्ण हुन्छ । सिर्फ भित्ताको क्यालेन्डर फेरिदैमा केही हुदैन । ध्रुत, उग्र चतुर्याइ, ठगी, कुविचारको बासलाई दिलदिमागबाट निकाल्न सक्ने प्रेरणा दिन सक्नुपर्छ नयाँ वर्षले ।
विगतको समीक्षा र आगामी योजना पनि हो नयाँ वर्ष । के हामीले गत वर्षका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षा गर्यौं त रु नयाँ वर्षका लागि के नयाँ अठोट अगाडि सार्यौं रु नयाँ वर्षका लागि के नयाँ सङ्कल्प गर्यौं रु मनन गर्न जरुरी छ । पात्रो मात्र होइन प्रवृत्ति फेरिनु पर्ने होइन र रु पात्रो फरिदैमा हुनेवाल केही छैन । सबैको एउटै चाहना छ पात्रोसँगै प्रवृत्ति फेरिएको होस् ।
शुभकामनाका शब्दहरू पोष्ट्याउने क्रम बढ्दो छ । भावना जागृत हुनु जति महत्वपूर्ण हुन्छ त्यसको कार्यान्वयन पनि त्यतिकै महत्त्वको हुन्छ । कथनी र करणीमा फरक हुन नपर्ने हो । तर भइदिन्छ त्यही । व्यवहार परिवर्तनको अठोट र कार्यान्वयन बिना शुभकामनाको कर्मकाण्ड पूरा गरेर मात्रै खासै अर्थ होला जस्तो लाग्दैन । त्यस्तो कर्मकाण्डले नयाँ वर्षले नयाँ वहार भित्र्याउन सक्दैन ।
अरूका सामु आदर्श फलाक्नेहरू सबैभन्दा कुविचारले ग्रसित भएका दृष्टान्तहरू पनि छन् । त्यसैले त्यागमा आफूलाई बाहेक गरेर हिसाबकिताब गर्ने प्रवृत्ति बढ्दो छ । हामी भन्दा म ले महत्व पाउनुपर्ने इगो भव्य रुपमा जागृत भएको भेटन सकिन्छ ।
नकारात्मक सोच र चिन्तनको हावी छ । विषयवस्तुको यथार्थ गहिराइमा नपुगेर धारणा बनाउने र व्यर्थको बदला लिन खोज्ने दुष्साहसको विगविगी छ । आदर्श अनुरुप व्यवहार परिवर्तन हुदैन भने आदर्श छाँटनुको कुनै तुक हुदैन । कुरा जस्तो काम र काम जस्तो कुरा हुनुपर्ने होइन र रु हामीमा कुरा र कामबिचको तालमेल मिल्न सकेको छैन ।
नयाँ वर्षको अवसरमा आफूलाई बदल्ले प्रण गरौं । सामाजिक न्याय र सदभावका लागि प्रतिवद्ध बनौं । पात्रो र सामाजिक सञ्जालका भित्ताहरूमा नयाँ वर्ष देखिएला । तर आचरण परिवर्तन नभए नयाँ वर्षको उमङ्गतामा रमाउनुको कुनै अर्थ रहने छैन । आवरण र आचरणको पहिचान गरी एकाकार गर्न नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।
आचरण सुन्दर बनाउन सकेमा मात्र जीवनको ओज माथि हुनेछ । जीवनको सार्थकता र गरिमा त्यतिबेला उच्च बन्नेछ । विगतको समीक्षा र आगामी वर्ष असल र सभ्य नागरिक बन्न र अनि सार्थक जीवन जीउनका लागि आजै अठोट गरौं ।
अधिकांश मानिसमा कुनै न कुनै कुलत छ । जसले जीवनको ओज होइन बोझ बनाइ रहेका छन् । आफैं भित्र र परिवारमा समेत वितृष्णाका भावहरू कुण्ठित बनेर बसेका छन् । साल फेरिए पनि पारा नफेरिएपछि साल फेरिनुको कुनै अर्थ रहेन । नयाँ वर्षको सुरुवातसँगै जाँडरक्सी, चुरोट, बिँडी, सुर्ती, जुवातास, व्यविचार, नकरात्मक सोच, अत्यधिक सामाजिक सञ्जालको प्रयोग लगायतका हानिकारक बानीहरू छोड्ने प्रयास गर्नु नयाँ वर्षको ठूलो उपहार हो । त्यसका लागि नयाँ प्रण र सङ्कल्प गरौं ।
आफूले गरेको सबै ठिक अर्काले गरेको जति सबै गलत ठान्ने मानवीय प्रवृत्तिले सामाजिक विभाजन निम्त्याउँछ । शान्त, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि सबै विचार र भावनाको कदर आवश्यक छ । जीवनको गरिमा उच्च राख्न र मानव सामाजिक प्राणीको गरिमा उच्च बनाउन सामाजिक एकता र सदभाव बलियो बनाउन सबैमा राम्रो सुझबुझको आवश्यकता पर्दछ ।
सामाजिक सदभाव र एकताको जस्तो सन्तुष्टि अरु कुनै थोकमा छैन । स्वार्थको रजगज गर्न खोज्ने गलत प्रवृत्तिले सामाजिक विखण्डन निम्त्याउँछ । क्षणिकतामा रमाउन अमूल्य जीवन सिध्याउन अग्रसर हुनेहरूले त एक दिन अवश्य पश्चाताप गर्नुपर्ने छ । त्यसैले मावनीय सम्बन्ध प्रगाढ बनाउन सबै सचेत हुन र चेत खुलाउन जरुरी छ ।
दिनगन्तीका दरले पाएको जीवनको अहम खुसी मानवीयता, सामाजिक सदभाव र एकतामा छ । अर्कालाई सकुन्नजेल दुस्ख दिन सके आनन्द मान्ने अनि अर्काको प्रगतिमा डाहा र इर्ष्या गर्ने लजास्पद तुच्छ प्रवृत्ति अन्त्य गर्न सबैमा सदवुद्धि फिरोस् ।
सम्पूर्ण नेपाली मन, नेपाली पन तथा नेपालको माटोप्रति माया र सम्मान व्यक्त गर्ने सबैमा सकरात्मक सोचका साथ मानवीयता, सामाजिक सदभाव र एकताको प्रेरणा मिलोस्, नव वर्ष २०८२ सालको पावन अवसारमा हार्दिक शुभकामना ।
(लेखक ढकाल, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)