नेभिगेशन
समाज

जिल्ला अस्पताल सल्लेको भवन निर्माणमा ढिलाई, पुन: म्याद थपको तयारी

तत्काल निर्माण गर्न जनप्रतिनिधिहको जोड

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ मा निर्माणधिन जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाई भईरहेको छ । निर्माणको म्याद थपिएको समयमा पनि सम्पन्न नहुँदा पुनः म्याद थपको प्रक्रिया थालिएको अस्पतालले जनाएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार भवन निर्माणको जिम्मा पाएको खानी थोदङ मेसन जेभी निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसकेको हो । निर्माणका लागि म्याद थप गरेको समयभित्र पनि भवन निर्माण नहुँदा पुनः म्याद थपको प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो । 

अस्पतालका अनुसार ठेकेदार कम्पनीले २०८१ को असार ३० सम्म काम सम्पन्न गर्ने गरी २०७८ साउन ७ गते ठेक्का सम्झौता गरेको थियो । उक्त समयमा काम सम्पन्न नभएपछि २०८१ चैत मसान्तसम्म काम सम्पन्न हुनेगरी म्याद थप भएको थियो । तर थपिएको समयमा पनि काम पुरा हुन सकेको छैन । कम्पनीले अझै चार महिनाको समय मागिरहेको छ । 

समितिका अध्यक्ष कुसारीले आगामी असार मसान्तसम्म पुनः म्याद थपका लागि प्रदेशमा लेखि पठाईएको बताउनुभयो । अब भवनको केही संरचना र फिनिसिङको काम बाँकी रहेको छ । ठेकेदार कम्पनीले २३ करोड १५ लाख पाँच हजार २९१ रुपियाँमा भवन निर्माणको लागि सम्झौता गरेको छ । निर्माण कम्पनीकै ढिलासुस्तीका कारण भवन निर्माणमा ढिलाइ भइरहेको अस्पताल विकास समितिले जनाएको छ ।

fc137d6a-4932-4c4c-8ea1-41a19e41b155-1744705365.jpgयसैबिच मङगलबार जिल्ला अस्पताल रुकुम पश्चिमको निर्माणाधीन भवनको अनुगमन गरिएको छ । जिल्लाबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना प्रदेशसभा सदस्यसहित जनप्रतिनिधिहरुको टोलीले अनुगमन गरेको हो । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, प्रदेशसभा सदस्यहरु महेन्द्र केसी, मिलन खड्का र तुलसा मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी लगायतको टोलीले अनुगमन गरेको हो । 

अनुगमनका क्रममा प्रदेशसभा सदस्य लगायतका जनप्रतिनिधिहरुले तत्काल भवन निर्माणमा जोड दिनुभएको छ । पूर्व मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो स्थानबाट आवश्यक पहलकदमी गर्ने र नयाँ भवनबाट सेवा प्रवाह हुनुपर्ने बताउनुभयो । यथासक्य भवन निर्माण गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई निरन्तर खबरदारी गरिरहेको शर्माले उल्लेख गर्नुभयो ।

यो भवन निर्माण भएमा जिल्ला अस्पतालको सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ । वि.सं. २०४५ सालमा स्थापना भएको यस अस्पतालका भवनहरु हाल जिर्ण बन्दै गईरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्