नेभिगेशन
समाज

चौरजहारीमा पहिला आउने सेवाग्राहीलाई स्वागत र सम्मान

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नयाँ वर्षको सुरुवातसँगै कार्यालयमा पहिला आउने सेवाग्राहीलाई स्वागत गरेर सेवा प्रदान गरेको छ । 

नयाँ वर्ष २०८२ सालको पहिलो सेवाग्राहीलाई स्वागत तथा सम्मानसँगै सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार मङगलबार कार्यालयमा आएका तीन जना सेवाग्राहीलाई स्वागत गरेर सेवा प्रदान गरिएको हो । 

चौरजहारी नगरपालिका –१३ का दिलिप शर्मा, भावना शर्मा र प्रेम डाङगीलाई कार्यालयमा स्वागत तथा सम्मानका साथ सेवा दिईएको हो । नयाँ वर्षको सुरुको दिन सार्वजनिक बिदा परेकोले आज कार्यालय समयमा पहिला आउने तीन जना सेवाग्राहीलाई स्वागत तथा सम्मान गरिएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले नव वर्षको आगमनसँगै सेवाग्राहीमैत्री सेवा प्रदानको संकल्प लिएर स्वागत गरिएको बताउनुभयो ।  सेवाग्राहीलाई स्वागत गरेर नगरपालिका कार्यालय र सेवाग्राही बिच सुमधुर सम्बन्ध निर्वाहमा पनि यस कार्यले सकारात्मक भूमिका खेल्ने उहाँको भनाई छ । 

आज विहान ठिक १० बजे कार्यालयमा राष्ट्रिय गानको कार्यक्रम लगत्तै उहाँहरुलाई स्वागत तथा सम्मानका साथ सेवा प्रदान गरिएको हो । उहाँहरुलाई दोसल्ला, अबिर र फूलले स्वागत गरिएको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्