नेभिगेशन
समाज

डोल्पा हुँदै रुकुम पूर्व जोड्ने सडकको डीपीआर अन्तिम चरणमा

डोल्पाको ठूलीभेरी नगरपालिकाको ताली गाउँ हुँदै रुकुम पुर्व जोड्ने सडक निर्माणका लागि डीपीआर सुरु गरिएको छ ।

पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ताली गाउँदेखि चिनाराङ्सी पाटनसम्म सडक निर्माणका लागि डीपीआरको काम सकिएको हो ।

ठूलीभेरी नगरपालिका नगरपालिकाका प्राविधिक पञ्च बुढाका अनुसार नगरपालिकाको सिमानाभित्रैको करिब १० किलोमिटर सडकको डिपीआर सकिएको छ । अब चिनाराङ्सीदेखि डोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने ज्ञानेसम्म डीपीआर गर्न बाँकी रहेकाे छ । पहिलो चरणमै काम सक्ने योजना भए पनि बाक्लो हिउँ जमेकाले त्योभन्दा अघि बढ्न नसकिएन उहाँले बताउनुभयाे । 

बुढाले भन्नुभयाे ‘डोल्पा–  रुकुम पुर्व जोड्ने सडकको ८० प्रतिशत डीपीआरको काम सकिसकेको छ, अब २० प्रतिशत बाँकी हो, त्यो पनि हिउँ पग्लियो भने अर्को सातासम्म सम्पन्न हुन्छ ।’ उहाँका अनुसार ज्ञानेभन्दा पारि रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकाको कुण्डला भन्ने ठाउँ पर्छ । त्यहाँबाट लाल पाटन, खारबाङ हुँदै रकुमकोट पुगिन्छ । 

यो सडक निर्माण भएमा सिधै मध्यपहाडी लोकमार्गसँग जोडिनेछ भने डोल्पा-काठमाडौं जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ । सडक निर्माणपश्चात् डोल्पाबाट पूर्वी रुकुम-बाग्लुङ-पर्वत-पोखरा हुँदै काठमाडौं एक दिनमै पुग्न सकिने ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढाले बताउनुभयाे । ‘नगरपालिकाको बजेटबाट डिपीआर गरेका छौं, काम सकिनेबित्तिकै प्रदेश र संघ सरकारसँग बजेटका लागि पहल गर्छौं, यो सडक निर्माणपछि डोल्पाबाट मध्यपहाडी लाकमार्गसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ,’ उहाँले भन्नुभयाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्