नेभिगेशन
अर्थ/वाणिज्य

लगातारको पानीले गहुँ बालीमा क्षति

लगातारको हावाहुरी र असिनासहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाएको हिउँदे बालीमा क्षति पुगेको छ । केहिदिन यताको बर्षाको कारण भित्र्याउनै लागेको गहुँ खेतीसँगै अन्य हिउँदे बालीमा क्षति पुगेको हो । 

पाकेर भित्र्याउन ठिक्क परेको गहुँ, जौ लगायतका हिउँदे बाली, तरकारी लगायतका फलफूल खेतीमा समेत क्षति पुगेपछि किसानहरु चिन्तित भएका छन् । त्रिवेणी गाउँपालिका -३ का किसान बिन्दु ओलीले ढल्याउन थालेको गहुँ र जौ खेती बारीमै जलाम्य भएको बताउनुभयो । पाकेर काट्न ठिक्क परेको बाली लगातारको पानीले गर्दा कालो हुँदै जान थालेको छ भने काटिसकेको गहुँ, जौ ढल्याउन नपाउँदै बारीमै भिजेको छ ।

गहुँ, जौका साथै सुन्तला खेतीमा पनि क्षति गरेको छ । ओलीले स–साना दाना लागेको सुन्तलाका बोट असिनाले नष्ट पारेको बताउनुभयो । सबै दाना असिनाले झारेको उहाँले जानकारी दिनुभयो । 

असिना पानीले अधिकांस किसानका बोटबाट गहुँका दाना समेत झारिदिएको छ भने भल पसेर कतिपय स्थानको गहुँबारी पुरिदिएको छ । हावाहुरी, असिना र पानीको कारण जिल्लाका विभिन्न स्थानका किसानहरुले ठुलो नोक्सानी बेहोर्नु परेको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी लालबहादुर भण्डारीका अनुसार गहुँ, जौं, आलु, सुन्तला लगायतको खेतीमा क्षति पुगेको छ । त्रिवेणी गाउँपालिकाको वडा नम्वर ३, ६ र १० र मुसीकोट नगरपालिकाको १, ४, ५, ६,७, ९,१०, ११ मा बढी क्षती भएको तर क्षतीको विवरण भने संकलन भईनसकेको उहाँले जनाउनुभयो । 

यस वर्षको हिउँदयाममा औषध भन्दा निकै कम पानी परेर हिउँदे बाली राम्रो नभएको अवस्थामा अलिअलि भएको बाली पनि असिना पानीले क्षति गरेको छ । जिल्लाका पश्चिम क्षेत्रका किसानहरुले काट्नै गरेको बालीमा क्षति पुगेको छ भने अन्य स्थानमा पाकेर ठिक्क परेको बालीमा नोक्सानी पुगेको छ । 

कृषि विकास कार्यालयको तथ्याङक अनुसार यस वर्ष रुकुमपश्चिमका छ स्थानीय तहको नौ हजार ६४० हेक्टर खेतीयोग्य जग्गामा गहुँ खेती गरिएको छ । गत वर्ष भने नाै हजार ६९० हेक्टरमा गहुँ लगाइएको थियो भने ११ हजार २४० मे.ट.उत्पादन भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्