नेभिगेशन
समाज
राप्ती राजमार्ग

राजापानीका स्थानीय राप्ती राजमार्ग विस्तारमा राजी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ राजापानीमा राप्ती राजमार्ग अन्तर्गतको सडकखण्ड विस्तारको लागि सहमति भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि सडक विस्तारको कार्य अवरुद्ध भएको थियो । 

राजमार्गको माछिमी–बाँफिकोट सडकखण्ड अन्तर्गतको उक्त स्थानमा रहेका दुई घर र तीन अस्थायी संरचनाको कारण सडक विस्तार रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.ले विवादको कारण रोकिएको सडक विस्तारको काम सहमतिपश्चात सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसी लगायतको उपस्थितिमा भएको छलफल पश्चात स्थानीयले सडक विस्तारमा सहमति गरेका हुन् । स्थानीयको असहमतिका कारण अवरुद्ध भएको सडक विस्तारको काम सबै सरोकारवालाको प्रयासका कारण सम्भव भएको उहाँले जनाउनुभयो । 

विवादका कारण यहाँको करिब चार सय मिटर सडक विस्तारमा ढिलाई भएको थियो । मुसीकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष ज्ञानु चन्दले प्रशासन कार्यालयको सहजीकरणमा भएको छलफल पश्चात सहमति भएको बताउनुभयो । उहाँले सडक क्षेत्रमा परेका दुई वटा घर र तीन वटा टहरा हटाउन स्थानीय राजी भएपछि सहमती भएको जानकारी दिनुभयो ।

सहमति अनुसार अब उक्त क्षेत्रमा नालासहित १० मिटर चौडाई सडक निर्माणको काम धमाधम भईरहेको छ । सडक छेउमा रहेको जग्गाको क्षेत्रमा पनि सडक विस्तार गर्न सहमति भएको छ । 

पूर्वाधार विकास कार्यालय चौरजहारीमार्फत सडक विस्तारको काम भईरहेको छ । राप्ती राजमार्ग अन्तगर्त माछिमी–बाँफिकोट सडकखण्डको करिब १२ किलोमिटर सडकखण्डमा सडक बिस्तार र कालोपत्रेको काम भईरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र बिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माछिमी देखि छिनखेतसम्म स्टक्चर निर्माणको काम भईरहेको छ भने छिनखेतदेखि बाँफिकोटसम्मको छ किलोमिटर सडकखण्डमा कालोपत्रको काम भईरहेको छ ।

हिमालय गौरी शंकर जेभीले उक्त कामको जिम्मा लिएको छ । निर्माण व्यवसायीलाई तोकिएको समयमै काम सम्पन्न गर्न ताकेता गरिएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्