नेभिगेशन
घटना/दुर्घटना

देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १४ जना घाइते

दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार दिउँसो लमही–भालुवाङ सडक खण्डअन्तर्गत सिंगे खोला नजिक भएको हो।

मृत्यु हुनेमा राजपुर गाउँपालिका–६ निवासी ५७ वर्षीय निल सरोज यादव रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। अर्की मृतक महिला रहेकी छन् तर उनको परिचय खुल्न सकेको छैन। दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बाँकी १२ जनालाई सामान्य चोटपटक लागेकाले प्रारम्भिक उपचार पछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनामा परेको बा ३ ख ७९९६ नम्बरको यात्रुबाहक बस कृष्णनगरबाट घोराहीतर्फ जाँदै गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार बस तीव्र गतिमा रहेकाले अनियन्त्रित भई सडक छेउको पर्खालमा ठोक्किएर पल्टिएको हो। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य अघि बढाइएको थियो।

वडा प्रहरी कार्यालय लमहीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।  चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना