नेभिगेशन
अर्थ/वाणिज्य

रुकुम पश्चिमको सोलाबाङमा वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ सोलाबाङ बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । 

बिहिबार एक कार्यक्रमका बिच पूर्व अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले काउन्टर कार्यालयको उद्घाटन गर्नुभएको हो । काउन्टर स्थापना कार्यक्रममा बोल्नुहुँदै शर्माले लामो समयको प्रयासपछि स्थानीयवासी र व्यवसायीहरुको मागको सम्बोधन भएको बताउनुभयो । उहाँले बैंकिङ्ग सेवाको पहुँच हरेक सर्वसाधारण पु¥र्याएर सहज सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । 

यस अघि नीजि बैंकलाई अनुरोध गरेर शाखा खोल्ने प्रयास भएतापनि विफल भएको तर वाणिज्य बैंकले जनताको माग सुनुवाई गरेको उहाँको भनाई छ । काउन्टर कार्यालयबाट हुने कारोबारको आधारमा शाखा कार्यालय बनाउन पहल हुने उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रिय वाणिज्य बैंक मुसिकोट शाखाका प्रबन्धक हेमन्त न्यौपानेका अनुसार उक्त काउन्टर कार्यालयबाट ऋण लगानी बाहेकका अन्य सम्पूर्ण सेवा प्रवाह हुनेछन् । कर्मचारी व्यवस्थापन भईसकेकोले सिस्टम जडान गरेर केहि दिनमै सेवा सुचारु हुने उहाँले जनाउनुुभयो ।

उहाँले खाता खोल्ने, रकम निकाल्ने, जम्मा गर्ने देखि चेक क्लियरिङ, पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजश्व, इबैंकिङ्ग, सरकारी कारोबार लगायतका सेवा यस काउन्टरबाट हुने जानकारी दिनुभयो । ऋण लगानीको फाईल उठाएर नजिकै रहेको मुसीकोट शाखा कार्यालयबाट गर्न सकिने समेत बताईएको छ । 

देशभरी २९४ शाखा कार्यालय रहेको यस बैंकका ७४ एक्सटेन्सन (सोलाबाङ सहित), ३१४ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् । यस बैंकले सात प्रदेशका ७७ जिल्लामा सेवा प्रवाह गरिरहेको जनाएको छ । 

यसअघि रुकुम पश्चिमको मुसिकोट र चौरजहारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना भएर सेवा प्रवाह भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्