नेभिगेशन
समाज

त्रिवेणीमा आठ करोड बढी लागतमा निर्मित पालिकाको भवन उद्घाटन

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन भएको छ । 

गाउँपालिकाको वडा नम्वर ३ खारानेटामा निर्मित भवनको आज एक कार्यक्रमका बिच पूर्व अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभएको हो । 

उक्त अवसरमा पूर्वमन्त्री शर्माले जनतालाई सरल र सहज सेवा प्रवाहमा थप सहजता हुने बताउनुभयो । उहाँले विभिन्न कालखण्डका राजैनैतिक संघर्षले स्थापित गणतन्त्रको सुन्दरता संघीयता भएकोले नजिकको सरकार मानिने स्थानीय तहले त्यसको सुगन्ध फैलाउनु पर्नेमा जोड दिनुभयो । 

जनतालाई सुरक्षा, राजनैतिक अधिकार, सुशासन र आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाको सहजता दिलाउने स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

संघीय सरकारले दिनुपर्ने सम्पूर्ण अधिकार दिन नसकेको अवस्थामा स्थानीय सरकारले आफ्नो तागतमा विभिन्न काम गरिरहेकोले त्यसको प्रशंसा गर्नुपर्ने उहाँको भनाई छ। शर्माले स्थानीय तहले अभ्यास गर्दै, सिक्दै जनताको घरघरमा गएर प्रभावकारी सेवा दिईरहेको उल्लेख गर्नुभयो । 

गाउँपालिकाको नयाँ भवन अपाङगतामैत्री समेत रहेकोले सबै जनता लाभान्वित हुने उहाँको अपेक्षा रहेको छ । 

गाउँपालिका अध्यक्ष गणेश केसीका अनुसार उक्त भवनबाट अब गाउँपालिकाको सेवा प्रवाह हुनेछ । स्थानीय तहको प्रशासकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संघ र स्थानीय सरकारको साझेदारीमा गाउँपालिका भवन निर्माण गरिएको हो । 

उक्त भवन आठ करोड २८ लाख ४२ हजार ३७२ रुपियाँको लागतमा निर्माण भएको गाउँपालिकाले बताएको छ । उक्त भवनमा साढे तीन तला र ३३ कोठा रहेका छन् । भवन निर्माणमा संघीय सरकारको ६० र स्थानीय तहको ४० प्रतिशत लगानी रहेको छ ।

भवन निर्माणका लागि २०७८ चैत ३० गते समानान्तर रेलिगेर जेभि निर्माण सम्पनीसँग भवन निर्माणको सम्झौता भएको थियो । औपचारिक रुपमा भवन उद्घाटन भएसँगै गाउँपालिकाको सेवा प्रवाहमा सहजता हुने बताईएको छ ।

स्थानीय सरकार निर्माणपछि गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा हालसम्म अस्थायी ट्रस्टबाट निर्मित भवनबाट सेवा प्रवाह भईरहेको थियो । भवन र कोठाको अभाव हुँदा वडा नम्वर ३ को खारानेटा, वडा नम्वर २ को सिम्रुतुमा गाउँपालिका मातहतका विभिनन्न शाखाहरु सञ्चालन भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्