नेभिगेशन
समाज

सानीभेरीबाट भाग्दाभाग्दै दुई अफिम कारोबारी प्रहरी नियन्त्रणमा, एक जना घाईते

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई जना अफिम कारोबारीलाई पक्राउ गरेको छ । 

जिल्लाको सानीभेरी गाउँपालिका –३ भलाचौरस्थित झिन्चौर तिमिले सडकखण्डबाट अवैध अफिमको साथबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –३ निवासी ७२ वर्षीय अनन्ते पुन र कैलाली जिल्लाको मोहन्याल गाउँपालिका (साबिक पण्डौन गाविस २) वस्ने ३५ वर्षीय कमल थापा रहेका छन् । 

उहाँका अनुसार घटना बिहिबारको हो । अपरिचित व्यक्तिले मोटरसाईकलमा अफिम लैजादै गरेको भनेर प्रहरीलाई गोप्य सूचना दियो । सोहि सूचनाको आधारमा प्रहरी चौकी सिम्लीबाट प्रहरी सहायक निरीक्षक तारा बहादुर डाँगीको कमाण्डमा दुई जनाको प्रहरीटोली उक्त स्थानतर्फ गयो । 

प्रहरी देख्ने बित्तिकै पुन र थापा भाग्न खोजेका थिए । प्रहरीले रोक्न सफल भयो । उनीहरु सवार मोटरसाईकल चेकजाँच गर्दा दुई किलो अफिम, एक टुक्रा चरेश र ७८ हजार ३०५ रुपियाँ प्रहरीले उनीहरुको साथबाट बरामद गर्यो । त्यस क्रममा मोटरसाईकल छोडेर भाग्न खोजेका कमल थापा भिरबाट लडेर बाँया कुममा चोट लागेको समेत प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । 

दुबै जनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । स्थानीयका अनुसार पुन स्थानीय सम्पर्क व्यक्ति र थापा अफिम कारोबारमा संलग्न व्यापारी रहेको आशंका रहेको छ । 

रुकुम पश्चिम प्रहरीले पछिल्लो समय अवैध अफिम खेतीको फडानी, कारोबारीहरु नियन्त्रण,सचेतना फैलाउने कार्यहरुलाई प्राथमिकता दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्