नेभिगेशन
समाज

चौरजहारीमा पूर्व जनमुक्ति सेना र घाईतेहरुलाई सम्मान

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेना र घाईते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । 

शुक्रबार नगरपालिकाको वडा नम्वर ६ ऐराकेमा आयोजना गरिएको सहभोजको अवसरमा पूर्व जनमुक्ति सेना र घाईते तथा अपाङ्गता भएकाहरुलाई सम्मान गरिएको हो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले तत्कालीन द्वन्द्वरत पक्ष बिचको वैमनश्यता र मनमुटाब कम गर्न र विगतका तिक्तता मेटाउने गरी सहभोज आयोजना गरिएको बताउनुभयो । त्यस अवसरमा द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरू र घाईते तथा अपाङगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले चौरजहारी नगरपालिका भित्र करिब १२० जना पूर्व जनमुक्ति सेना रहेकोमा उपलब्ध भएकाहरुलाई सम्मान गरिएको जनाउनुभयो । यसका साथै ३१ जना घाईते तथा अपाङगता भएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला, प्रमाणपत्र र अबिर लगाएर सम्मान गरिएको ढकालले बताउनुभयो । 

सम्मान कार्यक्रमपछि भएको अन्तरक्रिया कार्यक्रममा पूर्व जनमुक्ति सेनाहरु विरेन्द्र बिक, डण्ड बुढाथोकी, विष्णु बोहरा लगायतले सरकार तथाद स्थानीय तह समक्ष जिज्ञासा, गुनासा र सुझावहरु राख्नु भएको थियो । 

उक्त कार्यक्रममा नगर प्रमुख पुष्प बादीले नगरपालिकाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालीन जनमुक्ति सेनाले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताउनुभयो । यसका साथै द्वन्द्वको क्रममा घाईते हुुनुभएका व्यक्तिहरुको अमूल्य योगदान रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँहरुको योगदानको कारण मुलुकमा व्यवस्था नै परिवर्तन भएकोले सदा स्मरणिय रहेको उहाँको भनाई छ । 

नगरपालिकाले तत्कालीन द्वन्द्वरत पक्षबिच सामाजिक सद्भाव, एकता र मेलमिलाप गर्ने विभिन्न खालका कार्यक्रमहरु गर्दै आईरहेको छ । 

832e4cb0-0301-4fbf-bed2-7cd44e1cef0b-1745597518.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज