नेभिगेशन
समाज
सोती घटना

सोती घटना : उच्च अदालतद्वारा २४ जनाको जन्मकैद फैसला सदर, जातीय छुवाछुततर्फ सबैलाई सफाई

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ सोतीमा २०७७ जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटनाका २४ जना प्रतिवादीहरुले पाएको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको छ । 

उच्च अदालत सुर्खेतका न्यायधीसद्वय सोमकान्त मैनाली र मातृका प्रसाद भण्डारीको इजलासले मङगलबार २४ जना प्रतिवादीहरुको जन्मकैदको सजाय सदर गरेको अधिवक्ता यमकुमारी ददेलले जानकारी दिनुभयो । उहाँका अनुसार जन्मकैद सजाय तोकिएका २४ जना मध्य एक जना नाबालक भएकोले उहाँको सजायमा भने छुट हुने प्रावधान रहेको छ ।  जन्मकैद भने २५ वर्षको हुन्छ । 

रुकुम जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायधीस खड्कबहादुर केसीको एकल इजलासले २०८० मङ्सिर १९ गते जाजरकोटका नवराज बिकसहित छ जनाको ज्यान जानेगरी भएको घटनामा २४ जनालाई जन्मकैद फैसला गरेको थियो । 

सोहि घटनामा जातीय छुवाछुत कसुरमा तोकिएको सजाय भने बदर भएको उच्च अदालत सुर्खेतले जनाएको छ । जन्मकैद फैसला भएका २४ जना मध्य मल्ल ठकुरी थरका सबैजनालाई जातिय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत तोकिएको थियो । त्यसैगरी नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातिय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना तोकिएको थियो । उच्च अदालतले भने जातीय छुवाछुत मुद्धाका प्रतिवादीहरुलाई सफाई दिएको छ ।  

जिल्ला अदालतले तत्कालिन वडा अध्यक्ष समेत रहेका डम्बर बहादुर मल्ल, डिल्ली बहादुर ठकुरी, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्र बहादुर भनिने इर्द बहादुर ठकुरी, लिपेन्द्र कुमार मल्ल, हर्क बहादुर मल्ल, बिनोद मल्ल, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीन जना नाम परिवर्तितलाई जन्मकैदले फैसला गरेको थियो । नाम परिवर्तित तीन जना जना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाई र भाई हुनुहुन्छ । सोहि फैसला उच्चले सदर गरेको हो । 

soti-ghata-6-death--(2)-1745941206.jpg
सोती घटनामा ज्यान गुमाएका ६ जना युवाहरु । फाईल तस्बिर ।
 

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा पाच वर्षअघि छ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुमपश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज