सोसल मिडिया
समयक्रमसँगै राजनीतिशास्त्रका महत् आयाम समेट्ने व्यावहारिक शब्दावलीहरूको परिभाषा फरक र फराकिलो हुने गरेको छ । पछिल्लो समय जैविक प्रविधी र सूचना प्रविधि (बायोटेक एन्ड इन्फोटेक) नामक जुम्ल्याहा प्रविधिको विकाससँगै मानवीय चिन्तन, व्यवहार र प्रवृत्तिले गूणात्मक फड्को मारेको छ ।
एकातर्फ यी जुम्ल्याहा प्रविधिको तिव्रतम विकाससँगै मानवीय चिन्तन, प्रवृत्ति र व्यवहारमा गूणात्मक परिवर्तन आउनु, अर्कोतर्फ यिनै मानवीय व्यवहार, चिन्तन र प्रवृत्तिको नियामक प्रतिनिधिको रूपमा राजनीति रहनु र समकालीन वैश्विक राजनीतिको धमनी लोकतन्त्र हुनुले राजनीतिशास्त्रको ओजस्वी शब्दावली लोकतन्त्रको परिभाषा र दायरालाई अनिवार्य फराकिलो हुनेगरी प्रत्यक्ष प्रभाव पारेको बुझ्न सकिन्छ । त्यसैले आजभन्दा केही दशक पहिला लोकतन्त्रको परिभाषा र आयाम भित्र जे जति तत्वहरूलाई समावेश गरे पर्याप्त हुन्थ्यो आजको दिनमा त्यतिले मात्र लोकतन्त्रको दायरा साँघुरो हुनसक्छ ।
सात सालको जनक्रान्तिको रापतापले सिर्जेको परिभाषा भित्र आजको लोकतन्त्र नअटाउनसक्छ । नेपाली राजनीतिमा लोकतन्त्रको प्रसंग आउँदा स्वाभाविक रूपमा जहाँनीया राणाशासनको चंगुलबाट देशलाई मुक्त गरेर लोकतान्त्रिक मार्गमा डोर्याई लोकतन्त्रको जननी बनेको र त्यसपछि पनि कैयौंपटक लोकतान्त्रिक आन्दोलनको पर्याय बनेको नेपाली कांग्रेसको आन्तरिक जीवनमा लोकतान्त्रिक प्रतिबद्धता छ कि छैन भन्ने कुरा यक्ष प्रश्नको रूपमा रहन्छ ।
त्यसैले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस केन्द्रदेखि वडासम्म आफ्नो अधिवेशननमा जुटेको सन्दर्भमा फेरि एकपटक एउटा प्रश्न पेचिलो बनेको छ - के नेपाली कांग्रेसको आन्तरिक जीवनमा अहिले पनि लोकतन्त्र र खुला प्रतिस्पर्धा जिवित छ ? तत्काल घटेका निम्न तीन प्रकरणले मात्रै पनि यसमा सन्देह गर्ने पर्याप्त ठाउँ दिन्छ ।
प्रकरण १, पार्टी सभापतिकै जिल्लामा दुवैजना बहालवाला क्षेत्रीय सभापति सहित अधिकांश कार्यसमिति सदस्य र जिल्ला कार्यसमितिका सभापति पार्टीबाट अन्याय भयो भन्दै केन्द्रीय कार्यालयमा अनशन बसेका छन् तर अर्कोपक्षले अधिवेशन सम्पन्न गरिसक्यो ।
प्रकरण २, गृहमन्त्रीको जिल्लामा गृहमन्त्री समर्थित समूहले दुई दुई पटक अर्को खेमाका उम्मेदवार र समर्थकमाथि सांघातिक हमला गरेको खबर छ ।
प्रकरण ३, प्युठानमा एउटा पक्षका उम्मेदवारले अग्रता कायम गरेपछि इतर पक्षका कार्यकर्ताले मतगणना स्थलमा ढुंगामुढा गरेको, प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरिङ सम्म गर्नुपरेको र प्रहरी सहित करिब १० जना घाइते भएको खबर छ ।
"यी छिटफुट घटना हुन् । कहिलेकसो यसो भैहाल्छ नि" भनेर अपवादको डालोभित्र हुँडल्न मिल्दैन । स्वच्छ प्रतिस्पर्धाको ठाउँमा निषेध र हिंसालाई अपवाद मानेर प्रश्रय दिइयो भने लोकतन्त्र बाँच्दैन । सबै समस्या एकैपटक साम्य नहुन सक्छन् तर नीति र नेतृत्वरूपी नयाँ पालुवा फेरेर पार्टीको जीवनलाई तन्दुरुस्त पार्ने पार्टी जीवनकै सबैभन्दा शक्तिशाली कार्यक्रम महाधिवेशनमा राज्यशक्तिको दुरुपयोग र बलमिच्याँइ देखिनु दुर्भाग्यपूर्ण कुरा हो ।
विरोधी पक्षको माग र मुद्दा उपर छलफल हुनसकेको भए सकारात्मक सन्देश प्रवाह हुन्थ्यो । डडेलधुरा सभापति कर्ण मल्लकै कमजोरी रैछ भनेपनि इतिहासले उतिधेरै वास्ता गर्दैन तर आफ्नै गृहजिल्लाका सभापतिको असन्तुष्ट आवाज केन्द्रीय कार्यालयको मूलगेटबाट प्रवाहित हुँदा पनि सभापति देउवाले किन सुनेनन् भन्ने प्रश्नले उनलाई सदैव लखेटिराख्नेछ, कम्तिमा बहुलवादी लोकतान्त्रिक संस्कार खोज्नेहरूको लागि !
ऐन - मौका पर्दा हिंसा र निषेधलाई कुत्सित उद्देश्यपूर्तिको माध्यम बनाइहाल्ने हो भने लोकतान्त्रिक संस्कार र विचारलाई लिएर लोकतन्त्र नमान्ने इतर पक्षका उपर प्रश्न गर्ने नैतिक सामर्थ्य रहनेछैन, कांग्रेसजनले यो कुरा बुझ्न आवश्यक छ ।
समयमा अधिवेशन सम्पन्न गर्ननसकेको देखि लिएर घोषित मिति पटकपटक सार्नु र भातृसंस्थाहरूमा तदनुसारका गुटहरूले आआफ्नो भागबिलो समाई तदर्थ समितिको भरमा चलाउनु नेतृत्वको अर्को अक्षमता हो । पटकपटक च्याँखे थापेर निर्वाचित कार्यसमितिलाई घटनामा एकले अर्कोलाई आरोपप्रत्यारोप गरेर जति चोखिने प्रयास गरेपनि इतिहासले नोटिसमा लिइसक्यो । दलको लोकतान्त्रिक प्रतिबद्धता र छवि धुमिल भैसक्यो किनकि दल अमूर्त हुन्छ देखिने र मूर्त भनेको दलका संरचनामा बसेका सदस्यहरू र तिनले गर्ने कर्म न हुन् ।
उमेरले करिब आठ दशक पुग्न लागेको, विभिन्न राजनीतिक परिवर्तनको नेतृत्व गरेको र लोकतान्त्रिक दलका कार्यकर्तामा लोकतन्त्र सुहाउँदा न्युनतम राजनीतिक संस्कार नहुनु विडम्बनापूर्ण कुरा हो । लोकतन्त्रको हिङ के बीपी, गणेशमान, किसुनजीसँगै स्वर्गे भैसकेको हो ?
आज विज्ञान दैवीमनुष्यको अवधारणासम्म आइपुगेको छ । भोलि व्यावहारिक प्रयोगमै जुट्ला । त्यतिबेला लोकतन्त्र उदार, बिस्तारित र सुविचारित राजनीतिक कार्यक्रम नभई नेतृत्वमा बसेका केही सिमित व्यक्तिहरूको प्राधिकारको विषय बन्यो भने के होला ? अहिलेको भन्दा निक्कै नियन्त्रित व्यवस्था बन्न जानेमा शंका छैन । पश्चिमा देशहरूमा विकृत पूंजीवादी प्रणालीका विभिन्न स्वरूपलाई राजनीतिक साध्य मान्ने गरेकोले लोकतन्त्र कमजोर हुँदै गएको आरोप लाग्ने गरेको छ ।
नेपाल जस्ता आर्थिक रूपमा कमजोर र गुणस्तरीय शिक्षाको पहुँच सबैतिर पुग्न नसकेका देशमा चाहिँ नेतृत्वको सिमित कोटरीको प्राधिकार र तिनले गर्ने राज्यशक्तिको दुरुपयोग सर्वेसर्वा हुन थालेको देखिन्छ । लोकतान्त्रिक आन्दोलनको आरोह अवरोहमा मुख्य भूमिका खेलेको नेपाली कांग्रेसले सर्वप्रथम आफ्नो आन्तरिक जीवनमा बोलीले होइन कर्मले यसको व्यावहारिक प्रयोग गर्नुपर्छ ।
एकपटक फेरि, आफ्नो विरुद्ध प्रतिस्पर्धा गर्ने उम्मेदवार नहुँदा लोकतन्त्रको मूलभूत मर्म बचाउन आफ्नै जोडबलमा स्वयं विरुद्ध उम्मेदवार खडा गर्ने उदार बीपीको साँचो अनुयायी बन्नैपर्ने देखिन्छ । मूलतः यसलाई राजनीतिक कार्यक्रममा मात्र सिमित नगरी संस्कार र दैनिकी बनाउनुपर्छ । अन्यथा प्रदीप गिरिले भनेजस्तो हाम्रो लोकतन्त्र आम जनताको विचार नभई सिमित गिरोह, गुट र कोटरीको प्राधिकारको विषय बन्नेछ ।
- (लेखक केसी 'काठमाडौँ स्कुल अफ ल' मा बीएएलएलबी अध्ययनरत हुनुहुन्छ) ।