सोसल मिडिया
काठमाण्डाै / नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।
चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।
मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले १ हजार ८ सय ८ मत प्राप्त गर्नुभएको छ भने रावलले २ सय २३ मत ल्याउनुभएको हो । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
महाधिवेशनको बन्द सत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेतासँगको परामर्शमा १२ गतेको बन्द सत्रमा नामावली प्रस्तुत गर्दा धेरैले सहमति जनाएकामा रावल, भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।
नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।