Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सेवाग्राहिलाई सास्ती

मालपोत कार्यालय रुकुमकोटमा 'छैन इन्टरनेट, हुदैन काम'

साता दिनसम्म सेवाग्राहि हैरानी खेप्दै, सरोकारवालाको वेवास्ता
२०७८ मंसिर १५
tribeni2

रुकुम पूर्व / सिस्ने गाउँपालिका वडा नम्वर ५ का टिकाराम कार्की जिल्ला मालपोत कार्यालय रुकुमकोट धाउन थालेको ६ दिन भयो । तर उहाँको जग्गा पासको काम अझै भएको छैन ।

सिस्ने गाउँपालिका ६ नम्वर वडाका केवेन्द्र गौतमले बैंक ग्यारेन्टि बनाउनको लागि मालपोत कार्यालयमा लगातार हिड्न लागेको आज तीन भैसक्यो । मालपोत कार्यालयले उहाँलाई तीन दिन सम्म बैंक ग्यारेन्टिको लागि जग्गा धितो राखेको जग्गालाई रोक्का गरेको पत्र तयार गर्न सकेको छैन ।

टिकाराम र केवेन्द्र जस्ता सेवाग्राहिले मालपोत कार्यालयमा हैरानी खेप्नुपरेको साता दिन भैसक्यो । कार्यालयमा नेट नचेलेपछि टाढाबाट सेवा लिन आएका सेवाग्राहि होटेलमा बसेर खर्चको बिल बढाईरहेका मात्र छैनन् एक दिनको काम हप्ता दिनसम्म नहुँदा तनावमा परेका छन् । घरबाटै आउजाउ गर्न सक्ने सेवाग्राहिहरु पनि आउजाउ मै दिन बिताउन बाध्य छन् ।

‘आज सहित लगातार ६ दिन भयो तर काम भएन,’ टिकारामले भन्नुभयो ‘दिनभर कतै काम भैहाल्छ कि भनेर कार्यालयमा कुर्नेहरु धेरै छन् ।’ उहाँले जिल्लाको सिस्ने गाउँपालिका वडा नम्वर १ र २, पुथाउत्तरगंगा गाउँपालिकाबाट समेत २, ३ दिनसम्म हिडेर आईपुगेका सेवाग्राहिहरु थप मारमा परेका छन् ।

‘बैंक ग्यारेन्टीको महत्वपूण काम चौपट भयो,’ केवेन्द्रले भन्नुभयो ‘नेटका कारण भन्दै तीन दिन सम्म काम हुन सकेको छैन ।’ मालपोतमा भएको ढिलाईको कारण केवेन्द्रको बैंकको काम हुनु सकिरहेको छैन ।

जिल्ला मालपोत कार्यालय रुकुम पूर्वमा पुग्ने सेवाग्राहिहरुले नेटको समस्याका कारण लामो समयदेखि सास्ती खेप्दै आएका छन् । मालपोत कार्यालयमा नेटको समस्या देखाउदै कर्मचारीले काम नगरेपछि सेवाग्राहीहरु मर्कामा परेका हुन् ।

केहि समययता विभिन्न कामको सिलसिलामा कार्यालयसम्म पुगेका सेवाग्राहीहरु काम हुन्छ की भनेर कार्यालय बाहिर दैनिक घण्टौ कुर्ने गरेका छन् । साँझसम्म कुर्दा पनि काम नभएपछि सेवाग्राहीहरु खाली हात फर्कनुपर्ने अवस्था सिर्जना भएको गुनासो रहेको छ । सरकारी सेवाको लागि कार्यालयमा आएर हप्तौ कुर्दा पनि काम नभएको भन्दै सेवाग्राहीले आफुहरु अप्ठ्यारोमा परेको बताएका छन् । बैंक ग्यारेन्टि, धितो, जग्गा पास लगाएतका कामहरु लिएर मालपोत पुगेका सेवाग्राहिहरु दिनदिनै रित्तो हात फर्कनु परेको छ ।

एक देखि तीन दिन लगाएर रुकुमकोटसम्म पुगेका टाढाका नागरिकहरुलाई दिनभरि मालपोत सेवाको लागि कार्यालयमा कुुर्नुपर्ने र होटेलको बसाइले थप समस्यामा पारेको बताउँछन् । नेटको समस्या देखाउदै कर्मचारिले काम नगरेको लामो समय बित्दा पनि सरोकारवाला निकायले वेवास्ता गरेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

सबै कामकाज अनलाईन सिस्टमबाट गर्ने भनेर सरकारले भनेपनि कार्यालयमा एउटा भरपर्दो नेटको सुविधा गर्न नसकेको भन्दै कार्यालयप्रति सेवाग्राही आक्रोशित समेत बनेका छन् ।

यस बिषयमा मालपोत कार्यालयका प्रमुख मोहनलाल केसीले सेवाग्राहीको समस्यालाई बुझ्दाबुझ्दै पनि इन्टरनेटको समस्याले काम गर्न नसकिएको बताउनुभयो । केहि दिनयता छिनमै नेट आउने र जाने समस्याको कारण काम गर्न नसकिएको र सेवाग्राहीबाट पनि गुनासो आउने गरेको उहाँले स्विकार गर्नुभयो । प्रमुख केसीका अनुसार कार्यालयमा अहिले इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको नेट छ । वैकल्पिक नेटको व्यवस्था नहँुदा सेवा प्रवाहमा समस्या भएको मातपोतको भनाई छ ।

सुविसुको नेटले राम्रो काम नगरेपछि अर्को नेटको व्यवस्थापन गर्न भन्दै गत असोज महिनामै बजेटको माग गरेर विभागमा पठाएपनि अहिलेसम्म सुनुवाई नभएको प्रमुख केसी बताउनुहुन्छ ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले सेवाग्राहिबाट गुनासो आएकोले आजै समस्या समाधानका लागि मालपोत कार्यालयलाई निर्देशन दिने बताउनुभयो । साता दिन सम्म सेवाग्राहिहरु होेटेलमा बस्नु परेको, काम नभएको बिषयमा उहाँले बैकल्पीक व्यबस्था गरेर भएपनि काम नरोक्ने गरी व्यबस्था गर्न कार्यालय प्रमुखलाई आदेश दिने प्रमुख जिल्ला अधिकारी बास्कोटाले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्